नेपालगन्जकी नेरीले लिइन् सन्न्यास
Tuesday, March 19th, 2024, 11:51 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ चैत
नेपाली राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापाले सन्न्यासको घोषणा गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी हुन् ।
‘आज म मेरो रिटायरमेन्ट घोषणा गर्दैछु राष्ट्रिय/अन्तर्राष्ट्रियबाटक्रिकेट क्यारियरमा सकरात्मक र नकारात्मक पक्षहरूको साथ अविश्वसनीय १७ वर्षको उत्कृष्ट यात्रा थियो । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । विशेषगरी मेरो परिवारलाई धन्यवाद दिन्छु, जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो,’ उनले लेखेकी छन् ।
सन् १९९२ जुन ३ मा नेपालगन्जमा जन्मिएकी नेरीले २००७ को एसीसी महिला च्याम्पियनसिपमार्फत् नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन् । यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो । पहिलो सहभागितामै नेपाली महिला टोली फाइनलमा पुगेको थियो । तर, बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो । पहिलो प्रतियोगितामा नेरीले ५ खेलमा १२ विकेट लिएकी थिइन् । नेरीको कप्तानीमा महिला टोलीले सन् २००८ मा एसीसी यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।
सोही सफलतापछि नेरीलाई सन् २००८ मा एशियन क्रिकेट काउन्सिल (एसीसी)ले उदयमान खेलाडीको अवार्ड प्रदान गरेको थियो । सन् २००९ एसीसी महिला टी२० च्याम्पियनसिपमा नेपाली महिला टिमले तेस्रो स्थान हाँसिल गर्दा नेरी प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेकी थिइन् । उनले प्रतियोगितामा १४ विकेट लिएकी थिइन् ।
उनकै कप्तानीमा नेपालले सन् २०१० मा एसीसी यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । सो प्रतियोगितामा नेरी उत्कृष्ट ब्याट्सम्यान घोषित भएकी थिइन् । उनले अन्तिम पटक सन् २०११ मा कुवेतमा आयोजित एसीसी महिला टी२० प्रतियोगितामा नेपाली टोलीको कप्तानी गरेकी थिइन् । त्यसअघि नेपालले ऋतु कनौजिया र निरा राजोपाध्यलाई पनि टोलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए ।
सन् २०११ बाट भने रुविना क्षेत्री बेलबासे २०२३ सम्म कप्तानी सम्हाल्लेकी थिइन् । नेरीले विभागीय टोली एपीएफबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन् । तर, टोलीमा भने स्थान बनाउन सकेकी थिइनन् । नेरी घरेलु क्रिकेट इतिहासमै शतक बनाउने पहिलो खेलाडी हुन् । सन् २०१४ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगन्जको (तत्कालीन क्षेत्र नम्बर ५)का लागि खेल्दै काठमाडौँविरुरुद्ध उनले १२१ रन बनाएकी थिइन् ।
उनले ११ अन्तर्राष्ट्रिय टी२० खेलमा बलिङ गर्दै १७ विकेट लिएकी छन् । यसक्रममा उनले २१९ बलमा १२२ रन खर्चिएकी छन् ।