एकैपटक बाँकेका चारजना डिएसपीको सरुवा
Thursday, March 21st, 2024, 1:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ चैत
प्रहरी प्रधान कार्यालयले एकैपटक बाँकेका चारजना डिएसपीहरूको सरुवा गरेको छ । सरुवामा पर्नेहरुमा लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुरका डिएसपी दिपकबहादुर साह , नेपाल प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन शाखा नेपालगन्जका डिएसपी नवराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत र ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीको सरुवा भएको हो ।
त्यसैगरी प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरको बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ ।
सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउनेछन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी रेवतीरमण पोखरेललाई इलाका प्रहरी कार्यालय बर्दिबास सरूवा गरिएको छ ।
उनको स्थानमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भैरहवामा कार्यरत डिएसपी अनिल ठकुरीलाई ल्याइएको छ । त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दुर्गा प्रसाद दाहाललाई सरूवा गरी प्रहरी प्रधान कार्यालय विमानस्थल समन्वय शाखा तानिएको छ ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा कार्यरत डिएसपी सुवास हमाल पठाइएको छ । त्यस्तै सिआइबीका अर्का डिएसपी डा. तपन कुमार दाहाललाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ । उनको स्थानमा जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत डिएसपी श्याम कुमार सारूमगरलाई पठाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी डिल बहादुर मल्ललाई प्रहरी वृत्त ललितपुर पठाइएको छ । उनको स्थानमा नगर प्रहरी कार्यालय काठमाडौंका डिएसपी रोशन खड्कालाई पठाइएको छ ।