बहराइनसँग प्रतिस्पर्धा गर्दै नेपाल
Thursday, March 21st, 2024, 1:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ चैत
फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार बहराइनको सामना गर्दैछ । बहराइनको राष्ट्रिय रंगशालमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजे शुरू हुने छ ।
समूह ‘एच’ मा रहेको नेपालले ‘होम एन्ड अवे’का आधारमा हुने छनोटअन्तर्गत बिहीबारको यस खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल्नुपर्ने थियो ।
तर, दशरथ रंगशालको मैदानको स्तर राम्रो नभएकोले नेपालले ‘होम म्याच’ बहराइनमै खेल्न लागेको हो । यस्तै, नेपालले चैत्र १३ गते ‘अवे’ म्याच पनि बहराइनमै खेल्नेछ । नेपालको सिनियर टोलीले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
बहराइनसँग खेल्नुअघि नेपालले मलेसियासँग अभ्यास खेल खेलेको थियो । युनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग ५–१ गोल अन्तरले पराजित भएको थियो । नेपाल रहेको समूह ‘एच’ मा यूएई, बहराइन र यमन रहेका छन् । नेपाल पहिलो खेलमा यूएईसँग ४–० र दोस्रो खेलमा यमनसँग २–० गोल अन्तरले पराजित भएको थियो ।
यस समूहमा शतप्रतिशत जितसहित यूएई अंक तालिकाको शीर्ष स्थानमा छ । यूएईले २ खेलबाट ६ अंक जोडेको छ । यूएईसँग २–० गोल अन्तरले पराजित भएको बहराइनको समान खेलबाट ३ अंक छ । बहराइनले यमनलाई २–० गोल अन्तरले पराजित गरेको थियो । बहराइनसँग समान अंक भएपनि यमन तालिकामा तेस्रो स्थानमा छ । नेपालभने जितविहीन र अंकविहीन रहेको छ ।