नेपालगन्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा
Sunday, March 24th, 2024, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ फागुन
मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगन्जस्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बि.बि. (बिष्णु) ढकालले बताए ।
खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगन्ज उप–महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।
कति लाग्छ शुल्क ?
पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।
के छ आगामी योजना ?
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।
यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।