धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या
Tuesday, March 26th, 2024, 11:51 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
बाँकेको कोहलपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरमा २२ बर्षीय श्रीमान अनिल विकले २१ बर्षीया श्रीमती सुशिला सुनारलाई सोमबार राती धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । विकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
पार्वतीपुरस्थित रहेको बागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ बस्ने अनिलले श्रीमती सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाइते बनाएर आफैं उपचार गराउन नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो । यो घटना थाहा पाउनासाथ त्यहाँ पुगेको प्रहरीले बताएको छ ।
घाइतेको मृत्यु भइसकेपछि हामीलाई अस्पतालबाट राति १ बजेतिर खबर आएको थियो,’ इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले भने, ‘त्यसपछि हामीले हत्या आरोपितलाई अस्पतालमै गई नियन्त्रणमा लिएका हौं ।’
प्रहरी निरीक्षक भट्टराईका अनुसार अनिल र सुशीलाले पाँच महिना पहिलेमात्रै विवाह गरेका थिए । विवाहपछि उनीहरू कोहलपुर– १४ स्थित पार्वतीपुरको बागेश्वरी हिम पाइप उद्योगमा बसेर काम गर्दै आएका थिए । सुशीलाको हत्या उद्योगभित्रैको क्वाटरमा भएको थियो । अनिल र सुशीलाका बीचमा चार सय रुपैयाँको निहुँमा झगडा भएको थियो ।
होलीको समयमा अनिलले श्रीमती सुशीलालाई बर्दियास्थित घर जान भनेका थिए । श्रीमती नमानेपछि उनी एक्लै घर गएका दिए । ‘कोठामा आएपछि श्रीमती सुशीलाले मेरो पैसा लगेर किन घरमा आफन्त भेट्न गएको ? मलाई मेरो पैसा अहिले नै देऊ भन्दै झगडा सुरू गरेकी थिइन्,’ अनिलको बयान उद्धृत गर्दै प्रहरी निरीक्षक भट्टराईले भने, ‘पैसा भोलि बिहान दिउँला भन्दा पनि नमानेपछि मैले आवेगमा आएर चक्कुले ढाडमा हान्न पुगेछु !’
चक्कु प्रहारबाट गम्भीर घाइते सुशीलाको समयमै अस्पताल नपु¥याउँदा अत्यधिक रक्तस्राव कारण मृत्यु भएको भन्ने जानकारी अस्पतालले दिएको प्रहरी निरीक्षक भट्टराईले बताए ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।