नेपालद्धारा आयरल्यान्डविरुद्धको सिरिज क्लिन स्वीप
Tuesday, March 26th, 2024, 4:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १३ चैत
नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी–२० शृंखला क्लिन स्वीप गरेको छ । सोमबार सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेको थियो । मंगलाबार सम्पन्न दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २–० ले क्लिन स्वीप गरेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अलआउट भयो । आयरल्यान्डका ओपनरद्वय रोस एडियर र स्टेफिन डोहेनीले आक्रामक सुरुवात गरेका थिए । दुईबीच पाँच ओभरमा ४३ रनको साझेदारी भएको थियो ।
रोस १७ रन र डोहेनी १३ बलमा २६ रन बनाएर आउट भए । डोहेनीलाई पाँचौं ओभरको अन्तिम बलमा सोमपाल कामीले कप्तान रोहित पौडेलबाट क्याच गराए । रोस भने कुशल मल्लको बलमा गुल्सन झाबाट छैटौं ओभरको दोस्रो बलमा समातिए ।
त्यसपछि कारमाइकल १८ रन र मोर्गन टपिङ २१ रनमा आउट भए। कप्तान निल रकले १७ रन मात्र बनाउन सके । गभिन होए १ रन र फिन ह्यान्ड ५ रनमै आउट भए । नेपालले आयरल्यान्डको अन्तिम तीन विकेट तीन बलमा लिएको थियो । सोमपालले १९औं ओभरको पहिलो बलमा म्याकार्थीलाई १ रनमा बोल्ड गरे । दोस्रो बलमा बेन ह्वाइटलाई शून्यमा क्याच गरे । यस्तै तेस्रो बलमा गेरेथ डिनेलीलाई कप्तान रोहितले १५ रनमा रनआउट गरे ।
बलिङमा नेपालका कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिए । कुशलले ३ ओभरमा १५ रन दिए भने सोमपालले २.३ ओभरमा १७ रन खर्चिए । करण केसी, कुशल भुर्तेल र विवेक यादवले १–१ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १९८ रन बनायो । नेपालका लागि गुल्सन झाले ४७ रन जोडे । उनले ३२ बलमा १ चौका र ४ छक्का प्रार गरे ।
त्यसअघि ओपनरद्वय कुशल भुर्तेल १६ बलमा २ चौका र २ छक्काको मद्दतमा २५ रन र आसिफ शेख ९ बलमा १ चौका र १ छक्काको मद्दतमा ११ रन जोडेर आउट भए । अनिलकुमार साहले ११ बलमा २ चौका प्रहार गर्दै १२ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २४ बलमा ५ चौका प्रहार गर्दै ३३ रन जोडे । आक्रामक ब्याटिङ गरेका कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै ३४ रन बनाए ।
अन्तिम बलमा आउट भएका सन्दीप जोराले १० बलमा २१ रन बनाउँदा विवेक यादवले नटआउट ७ रन जोडे । बलिङमा आयरल्यान्डका म्याथ्यु फोस्टरले ३ विकेट लिए। उनले ४ ओभरमा ४२ रन खर्चिए । बेन ह्वाइटले २ विकेट हात पारे ।
नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो । आयरल्यान्डसँग दुई वटा टी–२० खेल खेलेसँगै नेपाली टिम यसैसाता भारत जानेछ । कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच बिहीबारदेखि तीन टी–२० र तीन एकदिवसीय खेलको सिरिज सुरु हुनेछ ।