खेल्ने होइन त रंगशालामा पौडी ?
Tuesday, March 26th, 2024, 5:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
के तपाई गर्मीमा राम्रो पौडी पोखरीको खोजीमा हुनुहुन्छ । नेपालगन्जमा सरकारी लगानीमा निर्माण भएको पौडी पोखरी तपाईको रोजाईमा पर्न सक्छ । नेपालगन्जमा रंगशालामा अत्याधुनिक सुविधा सहितको अन्तराष्ट्रिय स्तरको पौडी पोखरी यस सिजनका लागि संचालनमा आएको छ ।
गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित हुने गर्दछ । गर्मीले दैनिक जीवन प्रभावित हुने सहर नेपालगन्जमा सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी संचालनमा आएको छ ।
नेपालगन्ज रंगशालामा रहेको पौडी पोखरी संचालनमा आएपछि दैनिक पौडी खेल्न आउनेको संख्या बढदै गएको छ । अहिले दैनिक रुपमा ५० भन्दा बढी सर्वसाधरण पौडी खेल्न आउने गरेको बताउनु हुन्छ साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्ज प्रमुख महेश चन्द । चैत १ देखि संचालनमा आएपछि क्रमश पौडी खेल्न आउनेको संख्या बढिरहेको उहाँले जानकारी गराउनु भयो ।
पछिल्लो समय नेपालगन्जमा पौडी पोखरीमा आएर खेल्नेहरुको संख्या बढ्दै गएको चन्दले बताउनु भयो । नेपालगन्ज रंगशालामा भएको पौडी पोखरी स्तरीय भएकोले सर्वसाधारणको रोजाईमा पर्ने गरेको चन्दको भनाई रहेको छ । उहाँले भन्नु भयो,‘नेपालगन्ज रंगशालाको पौडी पोखरी अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको हो । यहाँ सर्वसाधरण र खेलाडीहरुले अभ्यास गर्न सहज छ । त्यसैले पनि धेरै रोजाईमा रंगशालाको पौडी पोखरी परेको हो ।’
राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद(राखेप)ले २०५६ सालदेखि नेपालगन्जमा पौडी पोखरीको निर्माण कार्य सुरु गरेको थियो ।
तर पौडी पोखरी भने नेपालगन्जमा २०७६ सालमा भएको आठौ राष्ट्रिय खेलकुद पश्चात निर्माण कार्य सम्पन्न भएको थियो । साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले हाल पौडी पोखरीको व्यवस्थापनको कार्य गरिरहेको छ ।
पौडी पोखरीको व्यवस्थापनमा खटिएका कर्मचारी र व्यवस्थापन खर्चलाई धान्न सक्ने गरी शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख चन्दले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘ हरेक सिजनमा पौडी पोखरी व्यवस्थापनमा लाखौं रुपैयाँ खर्च हुन्छ । व्यवस्थापनलाई सहयोग होस भनेर हामीले थोरै शुल्क राखेका छौं । यसले पौडी पोखरी संचालनमा सहयोग पुग्नेछ ।’
…………..
कार्यालय प्रमुख चन्दका अनुसार सर्वसाधारणहरुको लागि प्रतिव्यक्ति २ सय र विद्यार्थीहरुको लागि १ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । राष्ट्रिय खेलाडीहरुको लागि १ सय र अन्तराष्ट्रिय खेलाडीहरुको लागि निःशुल्क व्यवस्था गरिएको चन्दले बताउनु भयो । पौडी पोखरीको व्यवस्थापनमा नियमित रुपमा तिन जना कर्मचारीले काम गरिरहेका छन् । पौडी पोखरीमा संघ र क्लबहरुले प्रतियोगिता आयोजना गरे सहुलियत दरमा उपलब्ध गराउने चन्दले बताउनु भयो ।