न्याय सम्पादनमा उत्कृष्ट काम गर्दै खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु
Wednesday, March 27th, 2024, 4:51 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, चैत १४ गते
बाँकेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले न्याय सम्पादनको क्षेत्रमा आफुले उत्कृष्ट ढंगले काम गरिरहेको बताउनु भएको छ ।
समस्यामा परेर आउने पिडितलाई निष्पक्ष ढंगले आफुले न्याय सम्पादनको काम गर्ने गरेको उपाध्यक्ष मल्लले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामी विभिन्न राजनिति दलबाट निर्वाचित भएर आएका छौं ।
तर पनि मेरो जिम्मेवारी भनेको निष्पक्ष रुपमा न्याय दिने हो । त्यसको लागि संविधानमा हामीले पालना गर्नु पर्ने नियम, कार्यविधिको निर्माण गरिएको छ । त्यही नियमको पालना गरेर काम न्याय सम्पादनको काम गर्ने हो । त्यसलाई मैले निष्पक्ष ढंगले निर्वाह गरिरहेको छु । अन्य कुरा जनताले महशुस गर्ने कुरा हो ।’
बाँके जिल्लाको आठ स्थानीय तहमा खजुरा न्याय सम्पादनमा अगाडी रहेको छ । गत वर्ष खजुराले जिल्लामा सबैभन्दा ४ सय ६५ वटा मुद्धामा काम गरेको थियो । जसले गर्दा खजुरालाई न्याय सम्पादनमा पहिलो पालिकाका रुपमा पुरस्कृत हुने अवसर दिलाएको थियो ।
बुधबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले सामाजिक विभेद, घरेलु हिंसा जस्ता घटनाहरुबाट किशोरीलाई सुरक्षित राख्नको लागि पालिकामा किशोरीसँग उपाध्यक्ष कार्यक्रम गरिरहेको बताउनु भयो ।
बाँकेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिका भित्र निर्माण हुने योजनाको अनुगमन इमानदारिताका साथ गरिरहेको बताउनु भएको छ । पालिकामा निर्माण हुने विकास निर्माणको योजनाको अनुगमनका क्रममा सुरुवाती समयमा केहि समस्या देखिएपनि पछिल्लो समय कार्यविधि अनुसार आफुले काम गरिरहेको बताउनु भयो ।
गाउँसभाबाट पारित स्वीकृत योजना निर्माणको क्रममा केही कमजोरी भए आफुले त्यसलाई तत्काल सुधार गर्न सुझाव दिने गरेको मल्लले बताउनु भयो ।
नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको ‘प्रेस युनियन संवाद’ कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्लले विकास निर्माणका योजनाको अनुगमन गर्ने क्रममा विभिन्न पक्षबाट दबाब आएपनि नियमभन्दा बाहिर गएर आफुले काम नगर्ने बताउनु भयो ।
उहाँले भन्नु भयो,‘हामी सबैको आ–आफनो जिम्मेवारी र भुमिका छ । मैले मेरो दायित्व, जिम्मेवारी र अधिकार के हो । त्यसलाई बुझेर काम गर्नु पर्छ । सुरुआती दिनमा अनुगमनमा केहि दबाब आएको थियो । तर त्यसलाई मैले नियम भन्दा बाहिर गएर गरिन् । अनुगमन गर्ने एउटा टिम हुन्छ । प्राविधिक छन, योजना शाखा, विज्ञहरु छन् । सबैले आफनो जिम्मेवारी इमानदारिताका साथ पुरा गरे जनताको लगानीबाट बनेको योजना सही ढंगले निर्माण हुन्छन् ।’
राष्ट्रिय गाउँपालिका महासंघ नेपालको केन्द्रिय सदस्य समेत रहनु भएकी उपाध्यक्ष मल्लले खजुरा गाउँपालिकाले अघिल्लो नेतृत्वले सुरुआत गरेका गौरवका योजनालाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘केहि योजना बजेट अभावका कारण हामीले सोचेजसरी अगाडी बढेका छैनन् होला । तर समग्रमा अघिल्लो नेतृत्वले सुरुआत गरेका योजनाको पुरा गर्ने हाम्रो दायित्व हो । पालिकाको विकासका लागि त्यो जरुरी छ । राजनिति गर्ने बेला गर्ने हो । विकास निर्माण र जनतालाई सुविधा दिने कुरामा राजनिति गर्नु हुदैन । त्यसमा हामी प्रतिवद्ध छौं ।’
खजुरा गाउँपालिकालाई शिक्षाको हबको रुपमा विकास गर्ने योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको उपाध्यक्ष मल्लले बताउनु भयो । गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनमा विश्वविद्यालयलाई तत्कालको लागि स्थान्तरण गरेर संचालन गर्ने योजना अगाडी बढिरहेको उहाँले बताउनु भयो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय खजुराको गौरवको विषय भएकोले यसलाई पालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उपाध्यक्ष मल्लले संवाद कार्यक्रममा बताउनु भयो । उहाँले भन्नु भयो,‘खजुरा कृषि र शिक्षाको क्षेत्रमा अगाडी छ । कृषकहरुको व्यवसायिक विकासमा पालिकाले थुप्रै रचनात्मक काम गरेको छ । अन्य पालिका भन्दा हामी शिक्षामा अगाडी छौं । प्राविधिक विश्वविद्यालय खजुरामा संचालन हुनु भनेको हाम्रो गर्वको विषय हो । यसले यहाँको शैक्षिक देखि लिएर नागरिक स्तरमा राम्रो प्रभाव पार्छ । त्यसैले प्राविधिक विश्वविद्यालयलाई आवश्यक पर्ने सम्पुर्ण कुराको हामी व्यवस्थापनमा जुटिरहेका छौं ।’
स्थानीय तहमा क्षेत्र अधिकारको विषयलाई लिएर विवाद हुने गरेको बताउँदै उपाध्यक्ष मल्लले सबै आ–आफनो क्षेत्रअधिकारभित्र रहेर काम गरेको अवस्थामा पालिकामा आन्तरिक विवाद कम हुँदै जाने बताउनु भयो ।
बुधबार भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी लगायतले जनप्रतिनिधिको भुमिका, जिम्मेवारी र मिडियाको भुमिकाका बारेमा बोल्नु भएको थियो ।