महिलाहरुको लागि कानुनी साक्षरता कार्यक्रम सुरु
Saturday, March 30th, 2024, 5:48 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ चैत
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को आर्थिक सहयोगमा महिला हक अधिकार बारे कानुनी साक्षरता विषयक सचेतनामुलक कार्यक्रम सुरु भएको छ । दुई दिन सम्म चल्ने कार्यक्रममा वडा नम्बर १२ का महिलाहरुको सहभागिता रहेको छ । १२ नम्बर वडाले सुरु गरेको कार्यक्रम नगरमै पहिलो कार्यक्रमको रुपमा रहेको छ । जसले महिलाहरुलाई आफनो हक अधिकारको बारेमा सचेत गराउन सहयोग गर्ने कार्यक्रमका सहभागिहरुले बताउनु भएको थियो ।
दुइ दिने सचेतना मुलुक कार्यक्रमको उद्घाटन गर्दै नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले नेपालको कानुनका उल्लेख भएका हक अधिकारको बारेमा महिलाहरुलाई जानकारी गराउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘भौतिक पुर्वाधारको विकास मात्र वडाको विकास होइन । आम नागरिकको चेतनाको स्तरमा विकास भएमात्र समाजको विकास हुन्छ । त्यसैले हाम्रो वडाले आम महिला दिदीबहिनीहरुको कानुनी हक अधिकारको बारेमा सचेत गराउन कार्यक्रममा सहयोग गरेका हौं । यसले राज्यले कानुनमा उल्लेख गरेको अधिकारलाई कार्यान्वयनमा सहयोग गर्ने हामीले विश्वास लिएका छौं ।’
दिदि बहिनी समाज बाँकेको आयोजनामा भएको कार्यक्रममा दुई दिन सम्म १ सय २० भन्दा बढी महिलाहरुको सहभागिता रहेको छ । शुक्रबार वडा अध्यक्ष तरुण बज्राचार्य, आयोजक दिदि बहिनी समाज बाँके अध्यक्ष रमादेवी शाहले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । सचेतना मुलुक कार्यक्रममा सहभागि भएकाहरुलाई दुई दिन सम्म अधिवक्ता चित्र बहादुर शाह र सरिता पौडेलले अभिमुखिकरण गर्नु हुनेछ ।
शुक्रबार तालिमको उद्घाटन अवसरमा आयोजक संस्थाको बारेमा उपाध्यक्ष दिला शाहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ वडा सदस्य सुशिला पन्त, चन्दा चिडिमार, राज कुमार वाल्मिकी, बिनोद रस्तोगी, नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु पाण्डे, कानुनी शाखा प्रमुख माया शर्मा लगायतले नेपालको कानुनमा महिला अधिकारको बारेमा भएका व्यवस्थाहरुको बारेमा आफनो धारणा राख्नु भएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख पाण्डेले १२ नम्बर वडाले नगरमै पहिलो पटक नमुना कार्यक्रमको सुरुआत गरेकोमा धन्यवाद दिनु भएको थियो ।