बढ्दो कोरोना संक्रमणको कारण रोकियो झन्डै २५२ वर्ष अघिदेखि चल्दै आएको इन्द्रजात्रा
Tuesday, August 18th, 2020, 6:32 pm
amit
काठमाण्डौ, २ भदौ । कोरोना भाइरस (कोभिड–१९)का कारण ऐतिहासिक इन्द्रजात्रा यसपटक काठमाडौँको वसन्तपुर गद्दी बैठकबाट सुरु गरेर भित्री मध्य सहरमा मनाइने इन्द्रजात्रा स्थगित गर्ने निर्णय भएको गुठी संस्थानले जनाएको छ ।
कोरोना संक्रमण जोखिम बढेसंगै नेपाल सरकारले जात्रापर्व सञ्चालन नगर्न, नगराउन गरेको आदेशलाई कार्यान्वयन गर्दै यसपटक इन्द्रजात्रा स्थगित गरिएको गुठी संस्थान काठमाडौँ जानकारी दिएको छ ।
यसैगरी नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो काट्ने साइत यही भदौ ४ गते ११ः२५ बजे, त्यही रात ९ः२५ बजे रुख काटेपछि भदौ १० गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराउने र भदौ १४ गते इन्द्रध्वजोत्थानको साइत तोकिएको थियो ।
गुठी संस्थानका अनुसार यसपटक झन्डै २५२ वर्ष अघि जयप्रकाश मल्लका पालादेखि निरन्तर चलिरहेको श्रीकुमारी रथ यात्रा पनि स्थगित गरिएको छ भने श्रीतुलजा भवानी, श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको पुजन हुने भएतापनि रथ यात्रा गरिदैन ।
त्यस्तै जात्राका सन्दर्भमा सार्वजनिक स्थल, घर डेरामा भोज भतेर र जमघट नगर्न आग्रह गरिएको गुठी संस्थानले जानकारी दिएको छ ।