हाम्रो लक्ष्य ‘सुपर स्पेशलिटी’ सेवा दिने होः सिईओ सन्तोष कुमार बिएन
Thursday, June 6th, 2024, 9:25 pm
Kalpristha
पश्चिम नेपालमा गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्ने अग्रणी निजी अस्पतालमा पर्छ शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुर । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्धारा संचालित यी दुई अस्पतालले २०५४ सालदेखि लुम्बिनी, कर्णाली र सुदुरपश्चिम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छन् ।
यसै साता २६औं वार्षिक साधारण सभा सम्पन्न गरेको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले नयाँ व्यवस्थापनका साथ काम सुरु गरेको छ । खुमा प्रसाद अर्यालले लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको ५१ प्रतिसत सेयर खरिद गर्दै अध्यक्ष बनेपछि यी दुई अस्पतालले आक्रमक ढंगबाट नयाँ सुविधा थप्ने योजना सार्वजनिक गरिसकेको छ । व्यवस्थापकिय पक्ष सधै कमजोर भएको आरोप खेप्दै आएको लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले नयाँ सिईओका रुपमा भारतीय नागरिक सन्तोष कुमार बिएनलाई नियुक्त गरेको छ । नयाँ सिईओको जिम्मेवारी पाएका तिनै सन्तोष कुमारसँग शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरको भावी योजना र रणनीतिका बारेमा गरिएको कालपृष्ठ संवाद ।
पछिल्ला वर्षमा स्वास्थ्य सेवाको क्षेत्रमा नेपालगन्जमा थुप्रै प्रगति भएको छ । अहिले विशिष्टिकृत सेवा दिने बारेमा तिव्र प्रतिस्पर्धा छ । यस्तो अवस्थामा तपाईहरुको योजना के छ ?
हामीले कुनै पनि अस्पतालसँग प्रतिस्पर्धा गर्न जरुरी छैन । शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुरको आफनै परिचय छ । भौतिक पुर्वाधार, गुणस्तरीय सेवा र शिक्षणको क्षेत्रमा शिक्षण अस्पताल नेपालगञ्ज र शिक्षण अस्पताल कोहलपुर बलियो छ । यति धेरै भौतिक पुर्वाधार भएको अस्पतालमा नेपालमा कमै छन् । समय अनुसार केहि मागहरु छन् । हामीले दिने भनेको अरुले दिन नसक्ने सेवा हो । हामी ‘सुपर स्पेशलिटी’ सेवाको सुरुआत गर्ने योजनामा छौं । व्यवस्थापनमा भएका केहि कमजोरीलाई सुधार गर्नेछौं । जनताले कसरी छिटो सेवा पाउन सक्छन् भन्ने कुरामा हामी केन्द्रित भएर काम गरिरहेका छौं ।
नयाँ योजनाका साथ अगाडी बढने बताउनु भएको छ । अब शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जमा कस्ता सुविधा थपिदैछ ?
शिक्षण अस्पताल नेपालगन्जबाट अब बिरामीहरुको मात्र उपचार गरिनेछ । यहाँ अरु थप सुविधा र प्रविधिको विकास गरिनेछ । नेपालगन्जमा १.५ टेस्लाको एमआरआई सेवा सुरु भईसकेको छ । आगामी साउन देखि मुटु रोगको उपचार गर्नको लागि ‘क्याथ ल्याब’ सेवा सुरु हुँदैछ । कोहलपुर शिक्षण अस्पताललाई पुर्ण रुपमा नेपालगन्ज मेडिकल कलेजको रुपमा संचालन गरिनेछ । यो सँगै स्वास्थ्य क्षेत्रमा नयाँ उपकरण र थप विशेषज्ञ सेवा दिने तर्फ हाम्रो ध्यान केन्द्रित छ । कोहलपुरबाट अहिले एमबिबिएस, एमडी एमएस, बिएसी नर्सिङसँगै अब साउन देखि बिडिएस, बिएमटी, बिएमएलटी, सिसिएल नर्सिङ कोर्ष सुरु हुँदैछ । साउन देखि भवनियापुरमा रहेको जमिनमा पारामेडिकल कोर्षहरु सुरु गर्ने योजना छ ।
विगतका वर्षमा कोहलपुर र नेपालगन्जमा काम गर्ने कर्मचारीहरुले समयमा तलब नपाएको भन्दैं बिरोध जनाउने गरेका थिए । त्यसले अस्पतालको प्रतिष्ठालाई असर गरेको थियो । अब त्यस्तो समस्या आउँछ कि आउँदैन ?
हामी त्यस्तो अवस्था आउन नदिने प्रयास गछौं । हाम्रो उद्देश्य भनेको गुणस्तीय स्वास्थ्य सेवा प्रदान गर्दै कम्पनीलाई नाफामा लग्ने हो । त्यसमा सम्पुर्ण कर्मचारीको भुमिका हुन्छ । यहाँ कार्यरत १४ सय कर्मचारीको मिहिनेतले कम्पनीले नाफामा जान सक्छ । मलाई विश्वास छ त्यस्तो अवस्था आउने छैन् ।
तपाईले गुणस्तीय सेवा भने पनि धेरै बिरामीहरुले यहाँको सेवाका बारेमा गुनासो गर्नु हुन्छ । त्यसलाई कसुरी सम्बोधन गर्नु हुन्छ ?
बिरामीले गुनासो गर्नु स्वभाविक हो । हामीले हामीसँग भएको सेवा, सुविधा र जनशंक्तिलाई प्रयोग गरेर राम्रो सेवा दिने प्रयास गर्नुपर्छ । अहिले कर्मचारी तथा डाक्टरहरुको काम गर्ने समयमा पनि केहि परिवर्तन गरिएको छ । ल्याब रिर्पोटलाई जतिसक्दो छिटो आउन सक्ने व्यवस्था मिलाएका छौं अस्पतालमा आएको बिरामीले आफनो रिर्पोट एकैदिनमा डाक्टरलाई देखाएर जान सक्ने गरी व्यवस्थापन मिलाउँदैछौं । यसले नेपालगन्जभन्दा बाहिरका सहरबाट आउने बिरामीलाई सहज हुनेछ । बिहान आएर बेलुका आफनो घर जान सक्ने भयो भने बिरामीलाई धेरै सुविधा हुन्छ ।
नेपालगन्ज र कोहलपुर शिक्षण अस्पतालको सेवा लिन आउने बिरामीहरुलाई तपाई के भन्न चाहनु हुन्छ ?
……………
विगत देखि यस अस्पतालमा उपचार गराउन आउने बिरामीहरुलाई जति सक्दो छिटो र उच्च स्तरको सेवा दिने प्रतिवद्धता गछौं । नयाँ व्यवस्थापनसँगै अस्पतालमा थुप्रै कुराको परिवर्तन भएको छ । तपाईहरुको सल्लाह र सुझावलाई हामी सम्मान गर्दै कोहलपुर नेपालगन्जमै स्तरीय सेवा दिने प्रयासमा छौं । नयाँ प्रविधि र सुविधा बृद्धिका लागि अस्पताल व्यवस्थापनले करिब २५ करोड जति लगानी गर्ने योजना पनि बनाएको छ । अरु स–साना कुरालाई हामी सुधार गर्नेछौं । अस्पतालमा आएपछि बिरामीले निर्धक्का साथ उपचार गराउन सक्ने वातावरण निर्माण गछौं ।