विशेषज्ञ सेवालाई विस्तार गदै केयर सिटी अस्पताल
Friday, June 7th, 2024, 9:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २५ जेठ
नेपालगञ्जको भुजई गाउँमा रहेको केयर सिटी अस्पतालले २४ सै घण्टा चिकित्सक सहितको इमरजेन्सी सेवा सुरु गरेको छ । तिन वर्ष अघि देखि संचालनमा आएको केयर सिटी अस्पतालले थप सुविधा र विशेषज्ञ सेवा सहित आफनो सेवालाई विस्तार गरेको छ ।
शुक्रबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट,केयर सिटी अस्पतालका अध्यक्ष डा. विष्णु कुमार थापा सहितको टिमले अस्पतालको नयाँ सेवाको उद्घाटन गरे ।
प्रमुख विष्टले नेपालगन्जमा गुणस्तीय सेवासँगै संविधानमा आम नागरिकले सुलभ र सहज रुपमा पाउनु पर्ने स्वास्थ्य सेवा प्रदान गर्नमा अस्पतालले ध्यान दिने विश्वास व्यक्त गरे । पछिल्लो समय नेपालगन्जले स्वास्थ्य क्षेत्रमा थुप्रै प्रगति गरिरहेको बताउँदै प्रमुख विष्टले अस्पतालको सफलताको शुभकामना व्यक्त गरे ।
करिब २० करोड लगानीमा अस्पतालले इमरजेन्सी सेवा, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, भिडियो एक्सरे र एक्सरे सेवा संचालन गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ भुजई गाउँस्थित रहेको अस्पतालले ३ वर्ष देखि आफनो सेवाको सुभारम्भ गरेको थियो ।
१५ शैयाको अस्पतालमा आइसियु, एनआइसीयु, भेन्टिलेटर, अप्रेशन कक्ष र अत्याधुनिक प्रयोगशाला उपलब्ध छ । १ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको अस्पतालमा करिब २० करोड रुपैयाँ खर्च भएको केयर सिटी अस्पतालका अध्यक्ष डा. थापाले बताए ।
अस्पतालमा बालरोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति रोग, निःसन्तान तथा बाँझोपन, हाडजोर्नी, न्युरो सर्जरी, नाक कान घाटी, जनरल सर्जरी, रेडियोलोजी विभाग रहेका छन् ।
प्रत्येक महिना काठमाडौंबाट आईभिएफ बिशेषज्ञ, इण्डोक्राइनोलोजिस्ट तथा न्युरो फिजिसियन जस्ता सुपर स्पेशलिटी डाक्टरहरु उपलब्ध गराई सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।
नेपाल र भारतको ख्याती प्राप्त मेडिकल कलेजमा अध्ययनरत नेपालगन्जकै युवा चिकित्सकहरुको टिमबाट संचालन हुँदै आएको केयर सिटी अस्पतालमा १७ जना बिशेषज्ञ चिकित्सक, २ जना मेडिकल अफिसर, २१ जना नर्सिङ स्टाफ सहित ७२ जनाको टिम रहेका छन् । आगामी वर्षमा अस्पतालमा ५० शैया थप्ने योजना रहेको अस्पतालका प्रबन्ध निर्देशक सन्तोष शाहले बताउनु भयो ।
नेपालगन्जमै बिरामीलाई सुपर स्पेशलिटी सेवा दिने उद्देश्यका साथ काम गरिरहेको बताउँछन् केयर सिटी अस्पतालका अध्यक्ष डा. बिष्णु कुमार थापा ।
शुक्रबार भएको उद्घाटन कार्यक्रममा भेरी अस्पतालका पुर्व मेसु डा. प्रकाश थापा, डा. उर्मिला पराजुली लगायतको उपस्थिती रहेको थियो ।

…………

………..

……….