कस्तो छ सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियमको पिच ?
Tuesday, June 11th, 2024, 6:35 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २९ जेठ
नेपाल र श्रीलंकाबिच बुधबारको खेल हुने अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको रहेको छ । जारी विश्वकपमा उक्त स्टेडियममा खेल्न लागिएको यो नै पहिलो खेल हो ।
यो स्टेडियममा नेपाल र श्रीलंकाबिच खेल हुँदा पनि ठुलो स्कोर बन्न सक्ने अनुमान गरिएको छ । विश्वकप सुरु हुनुअघि यही स्टेडियममा श्रीलंका र नेदरल्यान्ड्सबिच औपचारिक अभ्यास खेल खेलिएको थियो । त्यो खेलमा दुवै टोलीले एक सय ५० भन्दा बढी रन बनाएका थिए ।
पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाली टोलीले पनि १९ ओभरमा अलआउट हुनुअघि एक सय ६१ रन बनाएको थियो । त्यो खेलमा दुवै टोलीका ब्याट्सम्यानले आक्रामक शैलीमा रन बनाएका थिए ।
श्रीलंकाली टोलीले आफ्नो दोस्रो औपचारिक अभ्यास खेल पनि आयरल्यान्डसँग यही स्टेडियममा खेलिएको थियो । त्यो खेलमा श्रीलंकाले आठ विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । आयरल्यान्ड भने १८.२ ओभरमा एक सय २२ रन बनाउँदै अलआउट भएको थियो ।
यसअघि दुईवटा अभ्यास खेल खेलिसकेकाले यो स्टेडियम श्रीलंकाली खेलाडीका लागि केही परिचित बनेको छ । तर, नेपाली खेलाडीका लागि भने यो स्टेडियम नितान्त नयाँ हो । सन् २०१० को मे २२ तारिखमा पनि यो स्टेडियममा श्रीलंका र न्युजिल्यान्डबिच टी–२० क्रिकेट खेलिएको थियो ।
यो स्टेडियममा पहिले ब्याटिङ गर्ने टोलीले बढी खेल जित्ने गरेका छन् । यो स्टेडियममा खेलिएको पछिल्ला १५ मध्ये ११ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा औसतमा एक सय ६० रन बन्ने गरेको छ । पहिलो पालीमा बन्ने औसत रन भने एक सय ६८ रहेको छ ।