बाटो अवरुद्ध गरेर बार्गेनिङ गर्दै वेस्टर्न रियल स्टेटका संचालक
Sunday, June 16th, 2024, 4:15 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असार
वेस्टर्न रियल स्टेटका संचालकहरुले जग्गाको विषलाई लिएर चलनचल्तीको बाटो अबरोध गरेर दुःख दिएको आरोप स्थानीयहरुले लगाएका छन् । नेपालगन्ज नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडीको बाटो शनिबार देखी अवरुद्ध छ । शर्माको घर जाने बाटो अवरुद्ध गरेर वेस्टर्न रियल स्टेट नेपालगन्जका संचालकले बार्गेनिङ गरेका छन् ।
वेस्टर्न रियल स्टेटका अध्यक्ष कौशल नेपालले शनिबार बाटोलाई अवरुद्ध गर्दै तारबार गरेका छन् । जसका कारण आफुहरुलाई घर बाहिर निस्कन समेत अप्ठयारो परेको बताउँछिन शर्मा । उनले भनिन, ‘सुरुआतमा वेस्र्टन रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडी सम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गाको किनबेच भएको छ । तर मेरो जमिनबाट अगाडीबाट पनि बाटो दिनु पर्छ भन्दैं वेस्टर्न रियल स्टेटका संचालकहरुले मलाई दबाब दिइरहनु भएको छ । कहिले बाटो अगाडी खाल्डो खन्छन्, अहिले बाटो नै अवरुद्ध गरेर दुःख दिएका छन् ।’
शनिबार देखि शर्माको परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठयारो पर्ने गरी कौशल नेपालले तारबार गरेका छन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाएपनि रियल स्टेट धनीहरुले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगन्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनु पर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुटयाएको जमिन भने रियल स्टेट संचालकहरुले आफनै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका छन् । त्यही शैली अपनाएका छन् वेस्टर्न रियल स्टेटका संचालकहरुले ।
चलचल्तीको बाटो भएपनि बाटो अगाडी बढाउन शर्माले आफनो जमिन नदिएका कारण आफुले बाटो अवरुद्ध गरेको कौशल नेपालले बताए । उनले भने,‘उहाँले किनेको जग्गा मेरो होइन । पुर्व जग्गा धनी र उहाँहरुसँग मौखिक रुपमा बाटोको लागि जमिन छोड्ने सहमति भएको थियो । तर उहाँहरुले आफनो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनु भयो । बाटोका लागि जमिन दिन सहमति जनाउनु भएन । त्यसपछि मैले मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यो त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा तारबार गरे ।’
कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आगन छ । त्यही घरको अगाडीको जमिन बाटोको रुपमा दिनु पर्छ भन्दैं कौशल नेपालले आफुहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउनु भएको छ ।
कारकादो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेस्टर्न रियल स्टेटले संचालक समितिका सदस्यहरुको नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ । प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने कौशल नेपालले आफनो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको छ ।
यही विवादलाई समाधान गर्नको लागि नेपालगन्ज उप–महानगरपालिकामा दुबै पक्षबिच छलफल पनि भएको थियो । सहमति भने हुन सकेको छैन् । सहमति नभएपछि गत शनिबार नेपालले बाटो नै अवरुद्ध गरेर शर्मा परिवारलाई समस्यामा पारेका छन् ।
………..
………..