प्राकृतिक श्रोत संरक्षणमा मानव जातीले ध्यान दिनु पर्छः मन्त्री कुर्मी
Tuesday, September 3rd, 2024, 10:02 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ भदौं
विकास पुर्वाधारको काम गर्दा प्राकृतिक स्रोत संरक्षणको बारेमा मानिसहरुले ध्यान दिनु पर्ने लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले बताउनु भएको छ ।
संसारमा भएका जीवजन्तुको अस्तित्वलाई जोगाउने कर्तव्य पनि मानव जातीको भएकोले विकासका नाममा उनीहरुलाई हानि गर्ने काम गर्न नहुने मन्त्री कुर्मीले बताउनु भएको छ ।
मंगलबार बाँकेको कोहलपुरमा भएको पुर्वाधार विकासमा प्राकृतिक श्रोत संरक्षण मुलप्रवाहिकरणबारे भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले सबै सरोकारवाला निकायबिचको सहकार्यमा वन्यजन्तु र पर्यावरणको संरक्षणमा उपलब्धी हासिल गर्न सकिने धारणा राख्नु भएको छ ।
डब्लुडब्लुएफ नेपाल र नेचर मिडिया नेटकर्वको आयोजनामा भएको कार्यक्रममा मन्त्री कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानव जातीको कर्तव्य भएकोले हामीले निर्माण गर्ने भौतिक पुर्वाधारहरु वन्यजन्तु मैत्री हुनु पर्ने ध्यान दिनु बताउनु भयो ।
………..
नेपालमा विकासको गति ज्यादै दयनिय अवस्थामा रहेको बताउँदैं अब त्यस्ता कमजोरीलाई हटाउँदै काम गर्नु पर्ने अहिलेको आवश्यकता रहेको मन्त्री कुर्मीको धारणा रहेको थियो । वन्य जन्तु संरक्षणसँग जोडिएका विभिन्न विषयमा छलफल गरिएको अन्तरक्रियामा बाँके र बर्दियाका डिभिजन वन कार्यालय, स्थानीय तहका प्रमुख, उपप्रमुख, सामुदायिक वन उपभोक्ता महासंघ, सडक डिभिजन कार्यालय र सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
……..
…………..
कार्यक्रममा प्राकृतिक स्रोत संरक्षणमा रेखीय पुर्वाधारका असर तथा असल अभ्यासहरुको बारेमा डा. रोशन शेरचनले प्रस्तुत राख्नु भएको थियो । वन्यजन्तु मैत्री पुर्वाधार निर्माणको कार्यविधि र स्थानीय स्तरमा यसको महत्वको बारेमा बाँके राष्ट्रिय निकुञ्जका वार्डेन मनोज कुमार साहले प्रस्तुती दिनु भएको थियो ।
यसैगरी पुरुषोत्तम खतिवडाले स्थानीय कानुन तथा नीतिहरुमा वन्यजन्तु मैत्रीपुर्वाधार निर्माणको मुलप्रवाहीकरणको बारेमा प्रस्तुती राख्नु भएको थियो । बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारुको अध्यक्षतामा भएको कार्यक्रममा समुहगत छलफल गरेर सुझाव संकलन गरिएको थियो ।
छलफलका क्रममा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाह, ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्साल, ठाकुरबाबा नगरपालिका उप्रमुख विना कुमारी भंटराई, राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषा थारु, कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदी, डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजय सुवेदी, डिभिजन वन कार्यालय बाँकेका शंकर प्रसाद गुप्ता लगायतले वन्यजन्तु संरक्षणको बारेमा देखिएका समस्या र समाधान गर्ने बारेमा आफना धारणा राख्नु भएको थियो ।
छलफल प्राकृतिक श्रोत संरक्षणको बारेमा संकलन गरिएका सुझावहरुले आगामी दिनमा वातावरण र पर्यावरणको बारेमा थुप्रै कुरा सुधार गर्न सरोकारवाला निकायहरुलाई सहयोग पुग्ने नेचर मिडिया नेटकर्वका कार्यकारी निर्देशक सुवोध गौतमले बताउनु भयो ।