नेकपा विवाद : महासचिव पौडेल नेतृत्वको कार्यदलले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रतिवेदन बुझायो
Saturday, August 22nd, 2020, 6:25 pm
amit
काठमाण्डौ, ६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले आज (शनिबार) अपरान्ह पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रतिवेदन बुझाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएका जानकारी अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई गत साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारेर बुझाएको हो ।
दुई अध्यक्षले पार्टीको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए।
पार्टीभित्रको विवाद समाधान गरेर सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशनमा जाने तयारी समाविष्ट प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरिएको हो ।
यसैगरी कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको छ भने दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ।
स्रोतका अनुसार ओलीले यसअघि जस्तै एकलौटी निर्णय लिन नपाउने, पार्टी एकताको काम टुंगोमा र्पुयाएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायत विषयमा प्रतिवेदनमा समावेश भएको छ ।
ओलीको दुवै पदबाट राजीनामा माग भएपछि टसमस नहुने देखिएपछि दाहाल नेपाल समूहले पार्टीको नीति र सहमतिअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनु नपर्ने पक्षमा पुगिसकेको छ ।