टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा कम्पनीले अमेरिकी प्रशासनमाथि मुद्दा हाल्ने
Sunday, August 23rd, 2020, 1:26 pm
amit
एजेन्सी, ७ भदौ । टिकटकलाई प्रतिबन्ध लगाउने निर्णयको विरोधमा कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ।
बीबीसीका अनुसार टिकटकको मुख्य कम्पनी बाइटडान्ससँगको कारोबारमा रोक लगाउने र टिकटकलाई प्रतिबन्ध लगाउने अमेरिकी प्रशासनको कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा गर्ने तयारी भैरहेकोे छ ।
टिकटकले कुन अदालतमा मुद्दा दर्ता गर्ने भन्ने खुलाएको छैन तर टिकटकले यसै हप्ता नै अदालतमा अपिल दर्ता गर्ने बीबीसीले जनाएको छ ।
त्यस्तै गत अगष्ट ११ मा ट्रम्पले कार्यकारी आदेश जारी गर्दै चिनियाँ कम्पनी बाइटडान्सलाई टिकटक एपको अमेरिकामा रहेको व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न ९० दिनको समय अवधि दिएका थिए । यो आदेशसँगै बाइट डान्सले अमेरिकामा टिकटक बिक्रीका लागि माइक्रोसफ्ट तथा ओरेकल लगायतका कम्पनीहरुसँग छलफल अगाडि बढाइरहेको छ ।
टिकटक युवा पुस्तामा लोकप्रिय छ । अमेरिकामा मात्रै टिकटकका आठ करोड प्रयोगकर्ता रहेका छन् ।
टिकटकले अमेरिकी प्रयोगकर्ताका डाटालाई चीन पुर्याउने गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर कम्पनीले यसलाई अस्वीकार गर्दै आएको छ ।