तेस्रो प्याब्सन अन्तर विद्यालय लोकनृत्यमा एन्जल्स स्कुल प्रथम
Saturday, November 23rd, 2024, 7:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, मंसिर ८ गते
नेपालगन्जको चर्चित विद्यालय एन्जल्स स्कुलले तेस्रो प्याब्सन अन्तर विद्यालय जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि जितेको छ । शिक्षासँगै खेलकुद, सांस्कृतिक तथा विविध अतिरिक्त क्रियाकलापमा सक्रिय रहेको एन्जल्सले नेपालगन्जमा भएको प्रतिस्पर्धामा बाँकेका सबै विद्यालयलाई पछि पार्दै प्रथम हुन सफल भएको हो ।
प्रथम भएको एन्जल्सले दुई सय ३९ अंक प्राप्त गरेको थियो । प्रतियोगितामा जय बागेश्वरी स्कुल दुई सय ३३ अंकसहित दोस्रो भएको छ भने जेएस युनाइटेड दुई सय ३० अंकसहित तेस्रो भएको आयोजक प्याब्सन बाँकेले जनाएको छ ।
यसैगरी सगरमाथा बोर्डिङ स्कुल, नेपाल एजुकेसनल एकेडेमी र गोर्खा युनाइटेडले सान्त्वना स्थान प्राप्त गरे ।प्रतियोगितामा प्रथम भएको एन्जल्सले ५० हजार, दोस्रो भएको जय बागेश्वरीले २५ हजार र तृतीय भएका जेएस युनाइटेडले १५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा सान्त्वना पुरस्कार पाउने सबै विद्यालयले जनही पाँच हजार पाँच सय रुपैयाँ पाएका छन् ।
बाँके जिल्लाका २१ वटा विद्यालयहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा तिलहरी धोती, छड्के तिलहरी, भुमे, कौडा, झाँक्री, माझी, कौरा, साकेला जस्ता लोकनृत्यहरू प्रस्तुत गरिएको थियो ।
प्रतियोगितामा नेपाल नृत्य महासंघ उपाध्यक्ष भावना कार्की, कैलाली नृत्य संघ अध्यक्ष सुरज शाह र दाङ नृत्य संघ अध्यक्ष हेमन्त पाण्डेले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो ।
नृत्य महासंघ उपाध्यक्ष भावना कार्कीले प्याब्सनले आयोजना गर्ने लोकनृत्य प्रतियोगिताले हराउँदै गएको लोक नृत्यलाई पुनः जीवन प्रदान गर्ने बताउनु भयो ।
प्याब्सन नेपालले हरेक वर्ष आयोजना गर्ने लोकनृत्य प्रतियोगितामा बाँकेका विद्यालयहरूको उत्साहजनक सहभागिता हुने गरेको आयोजक प्याब्सन बाँके अध्यक्ष यम रावतले बताउनु भयो ।