बाँकेमा शीतलहर बढदैँ
Wednesday, January 8th, 2025, 7:20 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, २४ पुस
बाँकेमा शीतलहर र चिसो बढेपछि कोहलपुर नगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
विगत केही दिनदेखि हुस्सु, कुहिरो र शीतलहरसँगै बढेको चिसोले बाँकेको जनजीवन प्रभावित बनेपछि बुधवारदेखि नगरका विभिन्न स्थानमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।
कोहलपुरको मुख्य चौराह, साझा चोक, हाइस्कुल, पिपरी, हवल्दारपुर, मदनचोक, कौशिलानगर, चपरगौरी लगायतका मानिसहरु बढी जमघट हुने मुख्य राजमार्ग क्षेत्रका चोकहरुमा दाउरा वितरण सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।
उहाँका अनुसार जिल्ला वन पैदावर आपूर्ति समितिबाट ६ चट्टा दाउरा खरिद गरी इलाका प्रहरी कार्यालय कोहलपुरसँगको सहकार्यमा वितरण सुरु गरिको छ ।
‘कोहलपुर नगरपालिकाले विशेषगरी गरिब, असहाय, वृद्धवृद्धा तथा बालबालिकालाई न्यानो बनाउनका लागि आगो ताप्ने व्यवस्था मिलाउँदै आएको छ थापाले भन्नुभयोे–‘यो वर्ष पनि दाउरा खरिद गरेर चोक–चोकमा नगर प्रहरी आफै खटिएर आगो ताप्ने व्यवस्था मिलाइरहेको छ ।’
चिसो र शीतलहरले गरिब, असहाय, वृद्धवृद्धा, बालबालिका र मजदुरी गर्नेहरु बढी कष्ट सहनु परेको छ । चिसोले जिल्लाको जनजीवन दिनदिनै कष्टकर बन्दै गएको छ । मंगलवारबारदेखि बाँकेमा शीतलहर सुरु भएको छ ।