खजुरामा शिक्षक संघको लघु प्रशिक्षण सम्पन्न
Thursday, January 9th, 2025, 8:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २५ पुस
नेपाल शिक्षक संघ खजुरा गाउँपालिका कार्यसमितिको आयोजनामा बिहिबार लघु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । खजुरामा भएको कार्यक्रममा शिक्षकहरुलाई शिक्षण विधि, विद्यालयमा कसरी प्रभावकारी रुपमा शिक्षण गराउने, प्रशिक्षणका क्रममा आउने चुनौतिको व्यवस्थापन कसरी गर्ने लगायतका बारेमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमका सहभागिहरुलाई नेपाल शिक्षण संघ बाँकेका अध्यक्ष ऋषिराज शर्माले सहजीकरण गर्नु भएको थियो । लघु प्रशिक्षण कार्यक्रमको अवसरमा खजुरामा तिन जना शिक्षकहरुले नेपाल शिक्षक संघको सदस्यता लिनु भएको छ ।
आयोजक नेपाल शिक्षक संघ खजुराको सचिव टिका वलीका अनुसार पुष्पराज शर्मा, अमर राज गिरी र जुवेर खानले सदस्यता लिनु भएको हो । उहाँहरुलाई नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, क्षेत्र नम्बर ३(ख) सभापति राजेन्द्र आचार्य, खजुरा गाउँपालिका सभापति रमेश सिंजाली लगायतले नेपाल शिक्षक संघको सदस्यता प्रदान गर्नु भएको थियो ।
नेपाल शिक्षक संघ खजुरा गाउँपालिका अध्यक्ष विजय बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघको केन्द्रिय सदस्य पवन यादव, नेपाल शिक्षक महासंघको निवर्तमान केन्द्रिय सदस्य द्रोण वली, नेपाल शिक्षक संघ बाँके अध्यक्ष ऋषिराज शर्मा, नेपाल ट्रेड युनियन बाँकेका कार्यवहाक अध्यक्ष तोजेन्द्र विक, नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष कमल खत्री, खजुरा गाउँपालिका शिक्षक महासंघ अध्यक्ष माधव शर्मा लगायतको सहभागिता रहेको थियो ।