नेपालगन्जमा बहुभाषिक कविता, बिचार गोष्ठी, पाँच जना सम्मानित
Friday, January 10th, 2025, 9:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ पुस
विश्व हिन्दी दिवस–२०२५ को अवसरमा नेपालगन्जमा बहुभाषिक कविता, बिचार गोष्ठी एवं सम्मान अपर्ण कार्यक्रम गरिएको छ ।
विश्व हिन्दी महासभा नेपाल केन्द्रीय कार्यसमिति नेपालगन्ज बाँकेको आयोजनामा नेपालगन्जको महेन्द्र पुस्तकालमा सो कार्यक्रम शुक्रबार गरिएको हो । कार्यक्रममा पाँच जनालाई सम्मानसमेत गरिएको छ ।
महासभा केन्द्रीय समितिका बिष्णुलाल कुमालको अध्यक्षता, प्रमुख अतिथि रहनुभएका हिन्दी अवधीका वरिष्ठ साहित्यकार सच्चिदानन्द चौवेलाई साहित्य गौरव सम्मान, विशिष्ट अतिथि रहनुभएका लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेलाई साहित्य शिरोमणि सम्मान प्रदान गरिएको छ । श्यामानन्द सिंहद्वारा बनाइएका नेपालगन्जको चित्र, ढाका टोपी, दोसल्लासहित उहाँहरुलाई सम्मान प्रदान गरिएको थियो ।
यस्तै साहित्य प्रतिभा सम्मानबाट अर्चना पाठक, साहित्य भूषण सम्मानबाट श्यामानन्द वर्तमान, पत्रकार तथा शतक रक्तदाता पवन जायसवाललाई समाज गौरव सम्मानद्वारा सम्मान गरिएको थियो । सरदार मधई सिंहलाई साफाद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रा.डा.घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी, सरदार सिंह, गुल्जारे अदबका सचिव तथा उर्दू साहित्यकार मोहम्मद मुस्तफा अहसन कुरैशी, सैयद असफका रसूल नेपाली, सरदार हरपाल सिंह, सोनाली गुप्ता, बिमला कुमारी यादव, सन्तोष कुमार गुप्ता रहनुभएको कार्यक्रममा श्यामानन्द सिंहले बाँसुरी बजाउनुका साथै रचना वाचन गर्नुभएको थियो ।
सुशीला बैश्यले लोकगीतद्वारा स्वागत गर्नुभएको कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रलेस लुम्बिनी प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, अधिवक्ता भीम बहादुर शाही लगायतले विश्व हिन्दी दिवसको अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव, हिन्दी महासभा समितिका उपाध्यक्ष जगदम्बा पाठक, केन्द्रीय सदस्य ज्योति बाल्मिकी, रमेश कुमार यादव, डा.राज कुमार थारु, केशव न्यौपाने, डा.गीता अधिकारी, कृष्णादेवी पाण्डेय, सागर सिंह, शुभम सापकोटा, जमील अहमद हाशमी लगायतको सहभागिता रहेको थियो ।