चाचाजीको पाँचौ स्मृति दिवस: उहाँको जीवनबाट नयाँ पुस्ताले सिक्नुपर्नेमा जोड
Tuesday, January 28th, 2025, 8:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ माघ
प्रेस स्वतन्त्रता सेनानी तथा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षसमेत रहनुभएका स्वर्गिय पन्नालाल गुप्ता ‘चाचा’को पाँचौे स्मृति दिवस मनाइएको छ ।
पत्रकार महासंघ बाँकेको आयोजना तथा प्रेस स्वतन्त्रता सेनानी स्व.पन्नालाल गुप्ता चाचाजी स्मृति प्रतिष्ठानको संयोजनमा नेपालगञ्जमा सम्पन्न कार्यक्रममा स्वर्गिय गुप्ता कलमजिवी भएको र सदैब उहाँले कलमलाई हतियारको रुपमा प्रयोग गरेको स्मरण गरेका थिए ।
स्वर्गिय गुप्ता अहिले नरहे पनि उहाँको योदानलाई आगामी दिनमा पनि सम्झिदै जानुपर्ने र नयाँ पुस्तालाई सिकाउनुपर्नेमा बोल्ने वक्ताहरुको भनाई रहेको थियो ।
पत्रकार महासघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, सल्लाहकार रुद्र सुवेदी, बाँकेका पूर्व अध्यक्षहरु हेमन्त कर्मचार्य, झलक गैरे, प्रतिष्ठानका अध्यक्ष तथा नेपालगन्जका पूर्व मेयर विजयकुमार गुप्ता, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका उपाध्यक्ष कमल खत्री, समाजवादी प्रेस संगठनका लोकनाथ शर्मालगायतले स्वर्गिय चाचाजीले देखाएको सादगी र पेशाप्रतिको लगावको बारेमा चर्चा गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गिय गुप्ताको २०७६ साल माघ १५ गते ९१ वर्षको उमेरमा निधन भएको थियो ।