एक करोड बढीको लागतमा नेपालगन्जमा क्रियापुत्री भवन निर्माण
Thursday, January 30th, 2025, 7:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ माघ
नेपालगञ्जमा नागरिकस्तरबाट एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिव पार्वती मन्दिर अगाडी किरियापुत्री भवन निर्माण गरिएको हो ।
करिब तीन कठ्ठा जग्गाभित्र एक करोड १६ लाख ६७ हजार ८८० लागतमा साढे दुई तले सुविधा सम्पन्न क्रियापुत्री भवन निर्माण गरिएको निर्माण समितिका संयोजक सेमराज शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार साढे दुई तले उक्त भवनमा पुरुष र महिला क्रियापुत्री अलग अलग बस्ने कुरुवा कोठा र प्रशासनिक प्रयोगका लागि व्यस्था मिलाइएको छ ।
शहरी क्षेत्रमा डेरामा बस्ने मानिसलाई क्रियाकर्मको संस्कारका काम गर्न अब सहज हुनेछ । “हिन्दू धर्ममा जन्म र मृत्यु संस्कार निकै महत्वपूर्ण मानिन्छ, यसै कुरालाई दृष्टिगत गर्दै नेपालगन्ज बसपार्क नजिक क्रियापुत्री घर निर्माण गरेका छौँ”, संयोजक शाक्यले भन्नुभयो ।
नागरिकस्तरबाट पहल र सहयोगबाट क्रियापुत्री भवन निर्माण नागरिकस्तरको पहलमा निर्माण गरिएको अत्याधुनिक सुविधा सम्पन्न क्रियापुत्री भवनको बिहीबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा नगर प्रमुख बिष्टले किरियापुत्री भवनले दुःखद कार्यमा परेका नगरवासीलाई सहजता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालगञ्जमा टड्कारो रूपमा किरियापुत्री भवनको आवश्यकता महसुस हुँदै आएकोमा सबैको साझा प्रयास र सहभागिताबाट भवन बन्नु सराहनीय कार्य भएको बताउनुभयो ।
विभिन्न क्षेत्रमा आबद्ध अगुवा समाजसेवीको पहलमा शिव पार्वती मन्दिरको जग्गामा विभिन्न दाता तथा सरकारी स्रोतको साझेदारीमा क्रियापुत्री घर निर्माण गरिएकोे निर्माण समितिका सचिव वसन्त लामिछानेले जानकारी दिनुभयो ।
नेपालगन्ज वडा नम्बर ६ फुल्टेक्रा निवासी माधवी शाहले १० लाख प्रदान गरी पहिलो संकल्पकर्ता बनेर नागरिकस्तरबाट क्रियापुत्री घर निर्माणको पहल थालेपछि सबै क्षेत्रबाट सहयोग प्रदान हुँदै आएको थियो । नागरिकस्तरबाट निर्माण सम्पन्न क्रियापुत्री भवनका लागि हालसम्म उपमहानगरपालिकाबाट पाँच लाख सहयोग प्राप्त भएको निर्माण समिति कोषाध्यक्ष अनिता शाहले जानकारी दिनुभयो ।