मेयर कप क्रिकेटमा एनएमएको रोमाञ्चक जित
Thursday, January 30th, 2025, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ माघ
ज्यागुवार क्रिकेट क्लब र नेपालगन्ज मोडेल एकेडेमी(एनएमए) ले मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् ।
ज्यागुवार क्रिकेट क्लबले हिमालयन वारियर्सलाई १ सय ४२ रनले पराजित गरेको छ । मंगल प्रसाद माविको क्रिकेट मैदानमा भएको अर्को खेलमा एनएमएले इदगाह स्पोर्टस क्लबलाई १ विकेटले पराजित गरेको छ ।
टस हारेर सुरुआतमा ब्याटिङ गरेको ज्यागुवार क्रिकेट क्लबले १९.३ओभरमा १० विकेटको नोक्सानीमा १ सय ७२ रन बनाएको थियो । टोलीका लागि अमन श्रेष्ठले सर्वाधिक ३८ रन, मोहम्मद सलमान शेखले २५ र मुजिब अन्सारीले २२ रन बनाउनु भएको थियो ।

……..
हिमालयन वारियर्सका फरमान शेखले ३ विकेट, शोएब मल्लिक र शेफ अलि शेखले २–२ विकेट लिन सफल हुनु भएको थियो । जवाफमा हिमालयन वारियर्सले १० ओभरमा पुरा विकेट गुमाउँदैं ३० रनमात्र बनाउन सक्यो ।
हिमालयनका रियाजुद्धिन सलमानीले बनाएको ९ रन बाहेक अन्य ब्याटसम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । ज्यागुवारका लागि अलराउन्डर प्रदर्शन गर्नु भएका मुजिब अन्सारीले ३ विकेट, निजामुद्धिन हलवाई, जीवन आलेमगर र मोहम्मद सलमानी शेखले २–२ विकेट लिनु भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्नु भएका मुजिब प्लेयर अफ द म्याच घोषित हुनु भयो ।
यसैगरी अन्तिम सम्म रोमाञ्चक बनेको अर्को खेलमा सुरुआतमा इदगाह स्पोर्टस क्लबले सुरुआतमा ब्याटिङ गरेर १८.३ ओभरमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि बिटीले अविजित ४३ रन बनाउनु भएको थियो । निहालले २२ रन बनाउन सफल हुनु भयो । एनएमएका लागि साहिल अन्सारीले २ विकेट लिनु भयो ।
जवाफमा एनएमएले अन्तिम बलमा जित हालि गरेको थियो । एनएमएका लागि शिव केसीले २४ रन र गणेश तिमल्सिनाले १७ रन बनाउनु भयो । इदगाह स्पोर्टस क्लबका जावेद शेख, बिटी र निहालले २–२ विकेट लिनु भयो । खेलमा एनएमएका गणेश प्लेयर अफ द म्याच घोषित हुनु भयो ।