इन्टर स्कुल डान्सिङ स्टारको फिनालेमा १० जना छनोट
Sunday, February 2nd, 2025, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० माघ
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको फिनालेमा १० जना छनोट भएका छन् ।
महोत्सवका सांस्कृतिक उप–समितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शनिबार पाँच र आइतबार पाँच गरी १० जना फिनालेमा पुग्न सफल भएका हुन् ।
फिनालेमा पुग्ने कलाकारहरुमा सबैभन्दा धेरै जना युनाइटेड एजुकेशनल एकेडेमीका ३ जना ग्रीष्मा राना क्षेत्री, सुदीप परियार र स्नेह गुरुङ रहेका छन् ।
त्यसैगरी धर्ती विष्ट मगर गोरखा युनाइटेड पब्लिक स्कुल कोहलपुर, सुस्मिता शर्मा फ्लोरिड एकेडेमी डुडुवा ५ कम्दी, संस्कृति शर्मा जनसेवा माध्यमिक विद्यालय जानकी–३, प्राप्ती गुरुङ जेनिथ एकेडेमी खजुरा ३, सुमित्रा राना मगर ज्ञानोदय नमुना मावि खजुरा र राधा बस्नेत मोडेल एकेडेमी नेपालगन्ज १८ तेजनगर रहेका छन् ।
प्रतियोगिताको माघ ११–१५ गतेसम्म हुने पहिलो चरणमा जिल्लाका ३५ जनाले नृत्य प्रतियोगितामा भाग लिएका थिए । माघ १६–१८ गतेसम्म शीर्ष २० जना छनोट भए । माघ १९ र २० गते शीर्ष १४ बीच सेमिफिनाले चरणको प्रतिस्पर्धा भएकोे थियो ।
आगामी २२ माघमा माघमा शीर्ष १० जनाबीच ग्राण्ड फिनाले हुनेछ । प्रतियोगिताका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश ५१ हजार, ३१ हजार र २१ हजार नगद पुरुस्कार तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने फिनालेका बाँकी ७ जनाले जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।
महोत्सवमा मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकारले हरेक दिन दुई वटा साँस्कृतिक पहिचान झल्कने सामूहिक नृत्य प्रस्तुत गरिरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुती दिइरहेका छन् ।