औषधिजन्य फोहोर फालेपछि सुनगाभालाई २५ हजार जरिवाना
Monday, February 10th, 2025, 8:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ माघ
नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि कडाई गरेको छ । उपमहानगरपालिकाले नगरका कुनै पनि सार्वजनिक स्थानमा कुनै प्रकारको फोहोर फाल्नेहरुमाथि कडाई गरेको हो ।
यसैक्रममा सोमबार नेपालगन्जका सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरेको छ । नेपालगन्ज नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीले सार्वजनिक स्थानमा फोहोर फालेकाले केन्द्रलाई कारवाही गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपमहानगरपालिकाले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फाल्ने वडा नम्बर १० शितलनगरस्थित केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

…………
‘हामीले फोहोर फाल्नेलाई स्पटमै बोलाएर, जरिवानासँगै अब उपरान्त नफाल्ने प्रतिबद्धतासमेत गराएका छौं,’ प्रहरी निरीक्षक बोगटीले भन्नुभयो, ‘फालिएको औषधीजन्य फोहोर उठाउन लगाएर कम्पनीमा फिर्ता गर्न लगाएका हौं ।’
नगर प्रहरी र स्वास्थ्य महाशाखाको टोलीले सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेको पाएपछि जरिवाना गरेको हो । नगर प्रहरी प्रमुख बोगटी, स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, फार्मेसी अधिकृत डा.अस्मित आचार्य, नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियासहितको टोली अनुगमनमा गएको थियो ।
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवद्र्धन गर्दै आएको उपमहानगरपालिकाले पछिल्लो समय कारवाही गर्दै जरिवाना गरिरहेको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताउनुभयो ।
फोहोर फाल्नेलाई ठाउँको–ठाउँ कारवाही गरिरहेको बताउँदै उहाँले फोहोर ब्यवस्थापनमा सघाएर साथ दिन नगरबासीलाई आग्रह गर्नुभयो । उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम सार्वजनिक स्थानमा फोहोर गर्ने वा फाल्नेलाई कारवाहीस्वरुप जरिवाना तिराउँदै आएको छ ।