मेयर तथा उपमेयर कप टि–२० क्रिकेट: योङ्ग गन्स सेमिफाईनलमा प्रवेश
Monday, February 10th, 2025, 8:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ माघ
नेपालगञ्जमा जारी मेयर तथा उपमेयर कप टि–२० क्रिकेट प्रतियोगितामा सोमाबर भएको खेलमा योङ्ग गन्स बिजयी भएको छ । मंगल प्रसाद माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा योङ्ग गन्सले यूभिसिसि कोहलपुरलाई ६ विकेटले हराएको हो ।
पहिला व्याटिङ्ग गरेको कोहलपुरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । उसका लागि नवराज शाहीले २५, गुरतिक सिंहले २० र अस्मित शाहीले १४ रनको योगदान दिनुभयो । खेलमा कोहलपुरका अन्य ब्याट्सम्यान मैदानमा टिक्न सकेनन ।
योङ्ग गन्सका खेलाडी बिजय चौधरीले ४ ओभर खेलाउँदै १३ रन दिएर २ विकेट लिनुभएको थियो भने अर्का खेलाडी गौतम कनौजियाले ४ ओभर खेलाउँदै १७ रन दिएर २ विकेट लिनुभएको थियो ।
जवाफी व्याटिङ्ग गर्न मैदानमा उत्रिएको योङ्ग गन्सले १३ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा १ सय २८ रन जोड्न सफल बन्यो । उसका लागि आकाश बिष्टले ५२, गौतम कनोजियाले ४६ र सैजाद वागवानले १५ रन जोड्नुभएको थियो । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन ।
कोहलपुरका बलर सौगात रानाभाटले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिनुभएको थियो । खेलमा योङ्गका खेलाडी गौतम म्यान अफ दि म्याच घोषित हुनुभयो । सोमबारको खेलमा बिजता बनेसँगै योङ्ग गन्स प्रतियोगितामा सेमिफाईनलको यात्रा कायम गरेको छ ।
बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगिता पुरुषतर्फको खेल नकआउटको आधारमा र महिलाहरुको खेल लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिता संयोजक सुनिल सिंह हमालले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले ७५ हजार, उपविजेताले ३५ हजार रुपैयाँ पाउनेछ । महिलातर्फको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गर्नेछ । पुरुष र महिला तर्फको म्यान अफ द सिरिजले जनही ५ हजार रुपैयाँ पाउनेछ ।