भ्रष्टाचार सामाजिक रोग हो: कानुन मन्त्री अग्रवाल, दुई कर्मचारी सम्मानित
Monday, February 10th, 2025, 8:31 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्ज, २८ माघ
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले भ्रष्टाचारलाई सामाजिक रोगको संज्ञा दिनुभएको छ ।
मन्त्री अग्रवालले भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्ने बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशिलताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा सोमाबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दैसुशासन प्रवद्र्धनका लागि सबै इमान्दार र गम्भीर बन्नुपर्ने मन्त्री अग्रवालको भनाई छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख गणेश बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाँकेका स्थानीय पालिका प्रमुखलाई बार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको थियो । कार्यक्रममा अधिकारीले हालसम्मको कार्य सम्पादन अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस अवसरमा ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ बाट दुई जना कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ । प्रमुख अतिथि रहनुभएका अग्रवालले इन्जिनियर नवीन पाण्डे र प्रहरी हवल्दार गुलाब चन्द्र मौर्यलाई पुरस्कृत गर्नुभएको थियो । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले शुभकामना मन्तब्य ब्यक्त गर्दै सदाचार र सुशासन प्रबद्र्धनका लागि सबै प्रतिबद्ध भए मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिनेमा जोड दिनुभएको थियो ।
वक्ताहरुले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, राप्तीसोनारीका अध्यक्ष तप्त बहादुर पौडेल, नरैनापुरका अध्यक्ष इश्तियाक अहमद शाह, विभिन्न सरकारी कार्यालयका प्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, पत्रकार लगायत उपस्थिति थिए । “भ्रष्टाचार नियन्त्रणमा नागरिक साझेदारी, सुशासन प्रबद्र्धनमा सबैको जिम्मेवारी“ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस मनाइएको छ ।
आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले चालू आर्थिक बर्षमा ६२ प्रतिशत प्रगति गरेको छ । प्रमुख अधिकारीले उजुरी फछ्र्यौटमा साउनदेखि हालसम्म ६२ प्रतिशत प्रगति हासिल गरेको बताउनुभयो ।
गतबर्ष ८३.८३ प्रतिशत प्रगति हासिल भएको अधिकारीले जानकारी दिनुभयो । नेपालगन्ज कार्यालयको कार्य क्षेत्र लुम्बिनीको बाँके, बर्दिया, दाङ र रोल्पा जिल्ला हुन् । चालू आर्थिक बर्ष २०८१÷८२ मा सम्पर्क कार्यालय नेपालगन्जमा २७९ वटा उजुरी दर्ता भएका छन् । साउनमा ७१, भदौमा ४१, असोज ३१, कार्तिक २८, मंसिर ३७, पुसमा ४० र माघ महिनामा ३१ उजुरी दर्ता भएका छन् ।