आम्दानीको स्रोत बन्दै बाख्रा पालन
Thursday, February 13th, 2025, 8:11 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ फागुन
जानकी वडा नम्बर ४ सहाराटोलीकी भोविसरा ओलीको दिनचर्या बाख्राको रेखदेखमा व्यस्त हुन्छ । साँझ, विहान भन्साको कामबाहेक ओलीको ध्यान बाख्रामै रहन्छ । उहाँको यो दिनचर्या नौलो नभएर लामो समयदेखि यस्तै व्यस्तता छ ।
‘भान्साको काम सक्ने बित्तिकै घासँ ल्याउने, खुवाउनमै बित्छ,’ ओलीले भन्नुभयो, ‘यो काम कुनै दिन गर्न नसक्दा, अर्कै लाग्छ ।’ ४ वर्षबढी समयदेखि ओलीले नियमितरुपमा बाख्राको रेखदेख गरिरहनुभएको छ । यो काम गर्दा उहाँलाई कहिल्यै गाह्रो वा झन्झट महसुस भएको छैन ।
‘यो काम गर्न मलाई कहिल्यै गाह्रो भएन,’ ओलीले भन्नुभयो, ‘नियमित काम जस्तै यो काम गर्दै आएको छु । गरेकै पनि छु ।’ आफ्नो यो काममा छोरा–छोरी र श्रीमानले पनि सघाउनुभएको उहाँले जानकारी दिनुभयो । पहिला उहाँले २–३ वटा बाख्रा मात्रै पाल्नुभएको थियो ।
घरको काम पछिको त्यही बाख्राका लागि समय दिनुहुन्थ्यो । काम त्यही गर्नुपर्ने र समय उही दिनुपर्ने कुरालाई मनन गरेपछि उहाँले बाख्राको संख्या बढाउनुभयो । ‘पहिला २–४ वटा बाख्रा पालकै थिए, रेखदेख गर्नैपथ्र्यो,’ ओलीले भन्नुभयो, ‘पछि यसो सोंचे समय दिनैपर्ने र काम उही आखिरमा गर्नुपर्ने छ भने बाख्रा संख्या थप्दा राम्रो हुन्छ, भनेर बाख्राको संख्या बढाइयो ।’
त्यसयता ४ वर्षदेखि ओलीले बाख्राको संख्या बढाएर व्यवसायीक रुपमा बाख्रा पालन गर्दै आउनु भएको छ । व्यवसायीक रुपमा बाख्रापालन थालेदेखि अलिकति बढी मेहनत गर्नुपर्ने भएको उहाँले बताउनुभयो । उहाँले हाँस्दै भन्नुभयो, ‘गाह्रो भएको छैन, दिनभर खाली पनि हुन्छु, यसमा रामै छ ।’
टोलमै घर अगाडी उहाँले हिमालयन बाख्रा पालन फार्म नामबाट व्यवसायीक पशु पालन सुरु गर्नुभएको हो । ३५ वटा बाख्राबाट उहाँले व्यवसायिकता सुरु गर्नुभएको थियो । फार्ममा सय जति बाख्रा पुगेका थिए, केही समयअघि त्यसमध्येबाट केही बाख्रा बेचेको उहाँले बताउनुभयो ।

……….
बाख्रा फार्मअघि ओली परिवारले पहिला घर नजिकै रहेको सगरमाथा स्टील कम्पनीमा क्यान्टिन चलाएको थियो । कोरोना संक्रमण भएर भयावाहस्थिति निर्माण भएपछि क्यान्टिन बन्द भयो । त्यसपछि क गर्ने भनेर व्यवसायिक रुपमा बाख्रा पालन सुरु गरेको ओलीले बताउनुभयो ।
उहाँको व्यवसायिकता निर्माणमा प्रदेश सरकारको पनि सहयोग छ । लुम्बिनी प्रदेश सरकारमार्फत गोठ निर्माणका लागि अनुदान पाएपछि व्यवसायिकतातर्फ अघि बढ्न ओली परिवारलाई थप सहयोग मिलेको हो । प्रदेश सरकारमार्फत गोठ निर्माणका लागि पाँच लाखका दरले ओलीले दुई पटक अनुदान सहयोग प्राप्त गर्नुभएको छ । अन्तिम पटक भएको कामको अनुदान भने पाउन बाँकी रहेको ओलीले जानकारी दिनुभयो ।
यसका साथै उहाँहरुले गोठ निर्माणका क्रममा मात्रै छ लाख रुपैया व्यक्तिगत लगानी गर्नुभएको छ । त्यसपछि तयार भएको बाख्रा गोठमा सयबढी बाख्रा अट्ने क्षमता छ भने चारा (आहारा) राख्नका लागि छुट्टै गोठसमेत निर्माण गरिएको छ । बाख्रा फार्ममा हालसम्म करिव ४० लाख रुपैया ओली परिवारको लगानी पुगेको छ ।
भोविसराका श्रीमान इन्द्रबहादुर ओलीका अनुसार फार्मबाट वार्षिक ५० वटा बढी नै बाख्रा बिक्री हुने गरेको छ । यसबाट ओली परिवारले करिब १७ लाख रुपैया आम्दानी गर्ने गर्छ । ‘मेहनत गरेका छौं, दिनरात यसमै समय दिएका छौं,’ भोविसराले भन्नुभयो, ‘श्रीमानले कार्यालयको समयपछिको समय यसैमा दिनुहन्छ । त्यस अनुसार सन्तुष्ट पनि छौं ।’
यसरी हुने वार्षिक कारोबार रकममै बाख्रालाई चारा, (घाँसपात, औषधीउपचार, बिमा) लगायतमा खर्च पनि हुने गरेको भोविसराका श्रीमान इन्द्रबहादुरले बताउनुभयो । ‘अरुको काम गर्दा पनि समयमा जानुपर्ने, गर्नुपर्ने र खटिनुपर्ने हुन्थ्यो, हामीले आफ्नै किन न गर्ने भनेर बाख्रा पालन ग¥यौं,’ श्रीमान इन्द्रबहादुरले भन्नुभयो, ‘म कार्यालय जान्छु, ‘श्रीमतीले बाख्रा फार्म हेर्छिन्, कार्यालयबाहेकको समय मपनि यसैमा दिन्छु ।’
इन्द्रबहादुर उच्च अदालत तुलसीपुर, नेपालगंज इजलासमा कार्यालय सहयोगीका रुपमा करारमा कार्यरत हुनुहुन्छ । ओली दम्पतीको एक छोरा एक छोरी छन् । उनीहरुको पनि विद्यालय बाहेकको समय यसमै बित्छ । ओली परिवारले बाख्रा लागि भनेर एक बिगहा पक्का जग्गामा घाँस लगाएको छ । बाख्रालाई बर्सेन, जई र अल्फा जातको घाँस दिने गरिएको छ ।
छिटो तयार हुने, तौल बढी हुने र खानेकुरामा जुनसुकै घाँस पनि खाने भएकाले बोयर जातको बाख्रा मात्रै ओली परिवारले पालेको छ । फार्ममा हाल ६० बढी बाख्रा छन् । ओली परिवार बाख्रा पालनबाट राम्रो आम्दानी भएपनि फार्मलाई ठुलो बनाउने बिचारमा भने छैन् । ‘अहिले आफैले गर्न सकिएको छ, ठुलो (बाख्रा थप) बनाउने बित्तिकै स्याहार सुसारका लागि अझ बढी समय चाहिन्छ, त्यसका लागि कर्मचारी राख्नुपर्ने हुन्छ,’ भोविसराले भन्नुभयो, ‘त्यसकारण हाललाई सानो भएपनि राम्रोसँग गर्ने मात्रै सोंच छ ।’
मेहनत गर्ने हो भने जोसुकै किसानले बाख्रा पालेरै राम्रो आम्दानी गर्न सक्ने भोविसराले बताउनुभयो । तर स्थानीय सरकारले किसानहरुलाई गर्नुपर्ने सहयोग पनि नगरेकोप्रति उहाँको गुनासो छ । पशुपालन गर्दा औषधीउपचारमा धेरै रकम खर्चिने हुँदा यसप्रति स्थानीय सरकारले ध्यान दिनुपर्ने ओलीले सुझाव छ । समयमा उपचार नपाउँदा ओलीले पालेको २ वटा व्याउन लागेका बाख्रा मरेका छन् । बिमा गरिएपनि उपचार नपाएर बाख्राको मृत्यु भएपछि ओली परिवारलाई लाख बढीको क्षति भोग्नुपरेको छ ।