ग्रीनपिस मावि मेयर कप फुटबलको फाइनलमा प्रवेश
Friday, February 14th, 2025, 7:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, फागुन २ गते
ग्रीनपिस मावि कोहलपुर मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार नेपालगन्ज रंगशालामा भएको सेमिफाइनलमा खेलमा ग्रीनपीस माविले धम्बोझी मावि नेपालगन्जलाई १–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ग्रीनपिसको लागि बिराज रोकायले ५४औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रीनपीस माविका गोलकिपर झलक सिंह प्लेयर अफ द म्याचबाट पुरस्कृत हुनु भयो । उहाँलाई नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापाले पुरस्कृत गर्नु भयो ।
यसैगरी मोर्डन पब्लिक स्कुल र होप इन्टरनेशनल स्कुललाई प्रोटेस्ट लागेपछि दुबै टिमलाई प्रतियोगिताबाट निष्कासन गरिएको प्रतियोगिताको अनुशासन उप–समिति संयोजक केसीले बताउनु भयो ।
संयोजक केसीका अनुसार दुबै विद्यालयले १८ वर्ष भन्दा माथि र फरक खेलाडीको कागजात पेश गरी खेलेको प्रमाणित भएपछि मोर्डन र होप इन्टरनेशनललाई कारबाही गरिएको हो । अब छात्र तर्फको सेमिफाइनलमा शनिबार मनकामना स्कुल नेपालगन्ज र ब्राइटल्याण्ड स्कुलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको गल्र्सतर्फ नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावि नेपालगन्जले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ ।