‘नेपाली महिलाका उत्पादन अन्तराष्ट्रिय बजारमा पुग्दैछन्’
Wednesday, February 19th, 2025, 8:22 pm
Kalpristha
कमल खत्री
धम्बोझी, फागुन ७ गते
स्थानीय स्तरमा महिलाहरुले उत्पादन गरेको वस्तुलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन सुरु गरिएको महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले बताउनु भएको छ ।
नेपालगन्जमा महिला उद्यमीहरुको वर्तमान अवस्था, चुनौति र अवसरका विषयमा गरिएको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले नेपाली महिलाहरुले उत्पादन गरेको वस्तुहरु गुणस्तरीय भएको भन्दैं यसलाई अन्तराष्ट्रिय बजारमा लग्नको लागि वातावरण बनिरहेको बताउनु भयो ।
महिलाहरुलाई राज्यले नितिगत रुपमा सहयोग गर्ने वातावरणको निर्माण गर्नु पर्नेमा जोड दिदैं अध्यक्ष ज्ञवालीले आत्मविश्वासका साथ काम गरे महिलाहरुले सफलता हासिल गर्न सक्ने बताउनु भयो । उहाँले भन्नु भयो,‘अल्लोमा हामीले धेरै राम्रो ब्रान्डिङ ग¥यौं । अब अल्लोको कुरा आउने नयाँ पुस्ताले पनि थाहा पाउनु पर्छ । थारु महिलाले बनाएका वस्तु हामीले अस्टे«लिया र युकेमा बिक्री गरेका छौं । यसले नयाँ सम्भावनाको उजागार गरेको छ । आउँने दिनमा अझ राम्रो बजार बन्ने हामीले विश्वास लिएका छौं ।’
महिला उद्यमी संघ नेपाल बाँकेले आयोजना गरेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीका अवसरमा आयोजना गरिएको संवाद कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुसँग महिला उद्यमीहरुका समस्या र अवसरका बारेमा समेत छलफल गरिएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा पोखरेल बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा ठाकुरबाबा नगपालिका बर्दियाको उप–प्रमुख बिना भट्टराई, ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगको प्रोप्राइटर लक्ष्मी भट्टराईले महिला उद्यमीका समस्या र अवसरका बारेमा आफनो अनुभव सुनाउनु भएको थियो ।
ठाकुरबाबा नगपालिका बर्दिया उप–प्रमुख बिना भट्टराईले संविधानले दिएको अधिकार प्राप्त गर्नको लागि महिलाहरु आर्थिक रुपमा सशक्त हुन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘राजनितिमा पनि महिलाहरुलाई नेतृत्वमा आउन सहज छैन । आर्थिक पाटो जोडिएको हुन्छ । नेतृत्वमा दाबी गर्दा पनि आर्थिक खर्च जुटाउन सकिन्न कि भन्ने डर छ । त्यसैले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुनु जरुरी छ ।’
महिला उद्यमीका बारेमा निराश हुनुपर्ने अवस्था पनि नरहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,‘अहिले युवाहरु बिदेशिने क्रम बढिरहेको छ । यस्तो अवस्थामा महिलाहरुले उद्यमीलाई धान्न पर्ने सक्ने अवस्था छ । महिला उद्यमी क्षेत्रमा केहि राम्रा प्रयास पनि भएका छन् । तर ग्रामिण महिलाहरुलाई सुचना नपुग्दा धेरै जना अवसरबाट बञ्चित हुनु परेको छ ।’

………….
ग्रीन कर्णाली बहुउद्देश्यीय उद्योगको प्रोप्राइटर लक्ष्मी भट्टराईले कर्णालीका महिलाहरुको उत्पादनलाई ब्रान्डिङको आवश्यकता रहेको बताउनु भयो । उहाँले भन्नु भयो,‘कर्णालीका महिलाहरुले उत्पादन गरेका वस्तुको ब्रान्डिङ गरिदिए पुग्छ । हामीले उत्पादन गरेका वस्तु अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने वातावरण बनाउनु पर्छ । कर्णालीका धेरै जिल्लामा महिलाहरुले राम्रो सामान उत्पादन गर्नु हुन्छ । तर मार्केटिङमा राजनितिकरण छ । वास्तविक उद्यमी भन्दा अन्यले राज्यको सहुलियत पाउने गरेका छन् ।’
संवाद कार्यक्रमको सहजीकरण गर्दै नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत दिप्ती भंट्टले महिला उद्यमीका नयाँ अवसर र भोगिरहेको समस्याको समाधानको बारेमा सरोकारवालासँग छलफल गर्नु भएको थियो ।
संवाद कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले महिला उद्यमीहरुको विकासमा आफुले सधै वकालत गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । महिलाहरुले प्रदर्शनीको बेला मात्र नभएर हरेक दिन व्यापार, व्यावसाय र उद्यममा जोडिनुपर्ने उहाँले सुझाव दिनु भयो ।
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी फागनु १० गते सम्म नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको चिल्डे«न पार्कमा आयोजना भैरहेको छ ।
गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित प्रदर्शनीको सुरुआत गरिएको हो । हरेक वर्ष प्रदर्शनीले महिलाहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको लागि अवसर सृजना गर्ने गरेको छ । प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नु हुनेछ । प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादनको बिक्री तथा प्रचार प्रसार गरिरहेको प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले बताउनु भयो ।
प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्रीका लागि राखिएका छन् ।
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको मुख्य प्रायोजकको रुपमा केएल दुगर्ड रहेको छ भने घरेलु तथा साना उद्योग विभाग बाँकेले सहयोग गरेको छ । फागनु ८ गते बिहिबार युवा उद्यमशिलता र स्वरोजगार प्रवद्र्धनमा सरोकारवाला निकायको भुमिका विषयमा उत्प्रेरणा कार्यक्रम आयोजना गरिने संयोजक सिंहले बताउनु भयो ।