युवा कृषक शारदा र फुटबल खेलाडी सृष्टि सम्मानित
Friday, February 21st, 2025, 10:07 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, ९ फागुन
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी– २०८१ को अवसरमा युवा कृषक शारदा शर्मा र फुटबल खेलाडी सृष्टि चौधरी सम्मानित हुनु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेले उहाँहरुलाई शुक्रबार सम्मान गरेको हो । आ–आफनो क्षेत्रमा महत्वपुर्ण सफलता हासिल गरेर महिलाहरुलाई उत्प्रेरणा प्रदान गरेको भन्दैं महिला उद्यमी संघ नेपाल बाँकेले दुबै जनालाई जनही १० हजार र सम्मानपत्र प्रदान गरेको छ ।

…..
प्रदर्शनीको अवसरमा आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोखरेल, जिल्ला समन्वय समिति बाँके उप–प्रमुख सीता कार्की, प्रदर्शनी संयोजक एवम् महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष रेवती सिंहले शारदा र सृष्टिलाई सम्मान गर्नु भएको हो ।
बाँके कोहलपुर चप्परगौडी–१२ निवासी शारदाले दुई दशक देखि शारदा सृजनशील गाई फर्मको स्थापना गरेर पशुपालन पेशा मार्फत आर्थिक सफलता हासिल गर्दै आउनु भएको छ । महिला उद्यमशिलता र आर्थिक स्थायित्वमा योगदान गर्दै स्वदेशमै बसेर युवाहरुलाई व्यवसाय गर्न उहाँले उत्प्रेरित गरेको भन्दैं संघले सम्मान गरेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी संयोजक सिंहले बताउनु भयो ।
यसैगरी सम्मानित हुनु भएको अर्को महिला बर्दिया गेरुवा गाउँपालिका–६ बर्दियाकी सृष्टिले बाँके जिल्ला फुटबल संघले यसै महिना आयोजना गरेको जिल्ला स्तरीय मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई च्याम्पियन बनाउन महत्वपुर्ण योगदान गर्नु भएको थियो । साथै प्रतियोगिता सृष्टि सर्वोत्कृष्ट खेलाडीको रुपमा घोषित हुनु भएको थियो ।
प्रदर्शनीको चौथो दिन सफल महिला उद्यमीहरुले आफनो सफलताको कथा सुनाउनु भएको थियो । सानो पुँजीबाट व्यवसाय सुरुआत गरेर सफलता हासिल गरेका व्यवसायी दिपाली टण्डन गुप्ता, अर्चना घिसिङ, हिरा घले, मीना खड्का, अन्जनी चौधरीले आफनो सफलताको कथा सुनाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दैं जिल्ला समन्वय समिति बाँके उप–प्रमुख सीता कार्कीले महिला उद्यमी संघ नेपाल बाँकेले गरेको कार्यक्रम उत्कृष्ट भएको बताउनु भयो । महिलालाई आर्थिक रुपमा सक्षम बनाउन यस्ता रचनात्मक कार्यक्रमलाई प्रभावकारी बनाउँदै लग्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष बस्नेतले नव उद्यमीहरु उत्पादन गर्ने, महिला उद्यमीका उत्पादनलाई बजारीकरण गर्दै आर्थिक रुपमा सबल बनाउने लक्ष्य सहित प्रदर्शनीको आयोजना गरिएको बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेले नवौं प्रदेश स्तरीय प्रदर्शनीको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरुको आयोजना गरिरहेको छ ।
नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी फागनु १० गते सम्म नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको चिल्डे्रन पार्कमा आयोजना भैरहेको छ । गाउँ तथा सहरमा भएका महिलाहरुलाई आफनो सिप, क्षमता र स्थानीय वस्तुको प्रयोग गर्दै उद्यमशील बनाउने लक्ष्य सहित प्रदर्शनीको सुरुआत गरिएको हो । हरेक वर्ष प्रदर्शनीले महिलाहरुले उत्पादन गरेको वस्तु तथा उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणको लागि अवसर सृजना गर्ने गरेको छ । प्रदर्शनी अवलोकन गर्न आउने महिलाहरुलाई पनि उद्यमी बन्न प्रदर्शनीले अभिप्रेरित गर्ने गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रदर्शनीको नवौं संस्करणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, प्युठान, रोल्पा, पुर्वी रुकुम, सल्यान लगायतका जिल्लाहरुबाट आउनु भएका महिला उद्यमीहरुले आफनो उत्पादन प्रदर्शनीमा राख्नु भएको प्रदर्शनी संयोजक सिंहले बताउनु भयो ।