बाँकेमा क्रान्तिकारी विद्यार्थीको नाममा चन्दा आतंक बढ्दै
Friday, March 7th, 2025, 6:30 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, फागुन २३ गते
द्धन्द्धकालको झल्को दिने गरी नेपालगन्जमा फेरी चन्दा आतंक सुरु भएको छ । राजनिति दलका विद्यार्थी संगठनको परिचय दिदैं केहि व्यक्तिले नेपालगन्जका निजी क्याम्पस र व्यापारिक समुहसँग चन्दा माग्ने क्रम फेरी बढेको छ । बाँकेमा पछिल्लो समय निजी स्कुल, कलेजहरुमा क्रान्तिकारी विद्यार्थीको नाममा चन्दा आतंक बढ्दै गएको हो ।
क्रान्तिकारी विद्यार्थीको नाममा लाखौं रकम चन्दा मागेपछि नेपालगन्जको एक क्याम्पसले विज्ञप्ती जारी गर्दै चन्दा आतंकको विरुद्धमा कानुन लडाई लडने घोषणा गरेको छ । विशेष गरी नयाँ शैक्षिक सत्रको भर्ना, निर्वाचनका समयमा यसरी चन्द आतंक बढने गरेको देखिन्छ । नेपालगन्जमा पछिल्लो समय क्रान्तिकारी विद्यार्थीको नाममा चन्दा आतंक बढिरहेको गुनासो आउन थालेको छ ।
सुरुआतमा विभिन्न आरोप लगाउँदै विद्यालय तथा क्याम्पसको अगाडी कालो ब्यानर लगाएर विरोध प्रदर्शन गर्दै धम्काउने गरिन्छ । पछि केहि रकममा कुरा मिलेपछि त्यो ब्यानर हटाउने गरेको पाईन्छ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको समय नजिकिदै गर्दा विद्यार्थी संगठनको नाममा फेरी निजी कलेजका व्यवस्थापनलाई चन्दा माग्दै धम्काउने गरेको घटना सार्वजनिक भएको हो । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ ।
निर्वाचनलाई आर्थिक सहयोग गर्नु प¥यो भन्दैं क्रान्तिकारी विद्यार्थीको नाममा आफुलाई फोनबाट धम्की र ‘ब्लाकमेल’ गर्ने कार्य भैरहेको नेपालगन्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले बताउनु भयो । नेपालगन्ज हेल्थ क्याम्पसले लाखौं रकम चन्दा मागेर क्याम्पस प्रशासनलाई मानसिक रुपमा धम्काउने गरेको भन्दैं शुक्रबार विज्ञप्ती जारी गरेको छ ।
चन्दा रकम नदिएपछि सामाजिक संजालमा क्याम्पसको बारेमा भ्रमपुर्ण र तथ्यहिन आरोप लगाउँदै सामाजिक संजालमा पोष्ट गरिएको घटना प्रति क्याम्सपले आपत्ती जनाएको छ । नेपालगन्ज हेल्थ क्याम्पसका अध्यक्ष वाल्मिकीले आर्थिक रुपमा मन्दीको सामना गरिरहेको बेला क्रान्तिकारी विद्यार्थीको नाम लिदैं लाखौं रकम चन्दा मागेर धम्की आइरहेको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘क्रान्तिकारी विद्यार्थी संगठनको परिचय दिदैं विद्यालयमा आएर लाखौं रकम चन्दा माग्ने समुह सक्रिय छ । चन्दा पनि लाखौं रकम माग्नु हुन्छ । त्यत्रो रकम कसरी दिनु । अधिवेशनमा जाने बसको व्यवस्था गर्दिनु भन्नुहुन्छ । आर्थिक रुपमा क्याम्पस चलाउन नै कठिन भैरहेको बेला हामी लाखौं रकम चन्दा दिन सक्ने अवस्थामा छैनौं । यत्रो रकम कसरी सहयोग गर्न सकिन्छ भन्दा मलाई फोन र सामाजिक संजाल मार्फत धम्काउने गरिएको छ । यस्तो निन्दनीय कार्यको हामी खुलेर सामना गछौं । र कानुनी उपचारमा जाने तयारीमा छौं ।’
आफुलाई क्रान्तिकारी विद्यार्थी नेता र पत्रकार भएको बताउँदै रमेश सुनुवार भन्ने व्यक्तिले क्याम्पस व्यवस्थापन बारेमा तथ्यहिन र भ्रामक भिडियो बनाएर ‘ब्लाकमेल’ गर्ने कार्यहरु गरिरहेको वाल्मिकीले बताउनु भयो । क्रान्तिकारी विद्यार्थी नेताको नाममा क्याम्पस परिसरमा आएर अनावश्यकरुपमा विद्यार्थी र क्याम्पसका कर्मचारीलाई धम्काउने गरेकोसमेत उहाँले बताउनु भयो ।
सामाजिक संजालको दुरुपयोग गर्दै आम संचार माध्यम र पत्रकारिताको समेत वदनाम गराउने गरी भैरहेको क्रियाकलाप विरुद्धमा कानुनी उपचारमा जाने समेत क्याम्पसले बताएको छ । घटनाको सत्य तथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गर्न क्याम्पसले सरोकारवाला निकायलाई अनुरोध समेत गरेको छ । नेपालगंज हेल्थ क्याम्पसले सन् २००८ देखि विद्यार्थीलाई गुणस्तरीय प्राविधिक शिक्षा प्रदान आइरहेको छ । देशमा व्याप्त आर्थिक कठिनाईको असर शैक्षिक क्षेत्रमा परिरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आदर्शनगरमा रहेको क्याम्पसले हरेक वर्ष स्वास्थ्य क्षेत्रमा दक्षजनशक्ति उत्पादन गरिरहेको छ । आर्थिक कठिनाई र विविध चुनौतिको सामना गरिरहेको बेलामा क्रान्तिकारी विद्यार्थीको नाममा केहि युवाहरुले क्याम्पस व्यवस्थापनसँग बारम्बार चन्दा स्वरुप लाखौं रकम माग्दै धम्काउने जस्ता कार्यहरु गरेको भन्दैं क्याम्पसले विज्ञप्ती मार्फत त्यस्तो कार्यको विरुद्धमा लड्ने बताएको छ ।
आर्थिक मन्दीको सामना गरिरहेको बेला पटक–पटक फोन गर्दै क्याम्पस व्यवस्थापनसँग चन्दा स्वरुपको रकम नदिएको खण्डमा मिडियामा लेख्ने जस्ता धम्की आइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

…………..
यसैगरी कोहलपुरका एक कलेजका व्यवस्थापकले चन्दा आतंकबाट आफुपनि पिडित भएको बताउनु भएको छ । वर्षमा आफुसँग १८ लाख सम्म चन्दा मागेपछि संस्था बन्द गर्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । कोहलपुरमा पनि एउटा गिरोह नै चन्दा उठाउन सक्रिय रहेको उहाँले बताउनु भयो । कोहलपुरमा बसेर बाँके र बर्दिया विभिन्न कलेज तथा स्कुलहरुमा क्रान्तिकारी विद्यार्थीको नाममा चन्दा उठाउने समुह सक्रिय रहेको कलेजका संचालकहरुले बताउनु भएको छ ।