राईजिङ स्टारलाई मुख्यमन्त्री कोहलपुर गोल्डकपको उपाधि
Saturday, March 8th, 2025, 9:19 pm
Kalpristha
सौरभ राना
कोहलपुर, २४ फागुन
तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लबले जितेको छ । शनिबार कोहलपुरमा भएको फाइनल खेलमा राईजिङ स्टारले आयोजक कोहलपुर रेसिङ साहारा क्लबलाई २–० ले हराउँदै उपाधि जितेको हो । कोहलपुर–२ स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा लगातार दुई गोल गर्दै पाहुना टोलीले पहिलो पटक उपाधि जितेको हो ।
दोस्रो हाफको पहिलो मिनेटमै राईजिङका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाउनु भयो । त्यसको लगत्तै दुई मिनेटको अन्तरमा व्यक्तिगत दोस्रो गोल गर्दै उहाँले राईजिङको अग्रतालाई दोब्बर बनाउनु भएको थियो । राईजिङका कप्तान विनोद केवटनै खेलको म्यान अफ द म्याचबाट पुरस्कृत हुनु भयो ।
उपाधि सहित राईजिङले नगद ८ लाख र उपविजेता आयोजक टिमले ४ लाख रुपैयाँ प्राप्त गरेको छ । विजयी टिमलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी लगायतका अतिथीले पुरस्कार प्रदान प्रदान गर्नु भएको थियो ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्दैं आयोजक रेसिङ साहारा क्लबका विनोद केसीले ५१ हजार प्राप्त गर्नु भयो । राईजिङ स्टारका चेतन थारू वेष्ट डिफेन्डर, प्रतिक सुनार उत्कृष्ट गोलकिपर, सन्दिप केसी उत्कृष्ट प्रशिक्षकको रुपमा पुरस्कृत हुनु भयो । विधागततर्फ उत्कृष्ट बनेकाहरुले जनही १० हजार रुपैयाँ प्राप्त गर्नु भएको प्रतियोगिता संयोजक कर्ण बस्नेतले बताउनु भयो । राईजिङ स्टारका विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विकले सर्वाधिक गोलकर्ता हुँदै नगद पाँच–पाँच हजार प्राप्त गर्नु भयो ।

………
कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा घाना र भारतीय क्लब सहित आठ टिमको सहभागीता रहेको प्रतियोगिता संयोजक कर्ण बस्नेतले बताउनु भयो ।