खजुरामा परीक्षा केन्द्र निर्धारणमा राजनिति, आधा दर्जन विद्यालयले गरे बिरोध
Saturday, March 8th, 2025, 9:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ फागुन
बाँकेको अर्को एक पालिकामा परीक्षा केन्द्र निर्धारणमा बिरोध आएको छ । परीक्षा केन्द्र निर्धारण गर्दा व्यवहारिक नभएको भन्दै सरोकारवालाले बिरोध जनाएका छन् । जिल्लामा कोहलपुरपछि खजुरा गाउँपालिकामा परीक्षा केन्द्र निर्धारणमा समस्या देखिएको कुरा सार्वजनिक भएको छ ।
यसअघि कोहलपुर नगरपालिकामा पनि परीक्षा केन्द्र निर्धारणमा लापरबाही भएको भन्दैं कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले बिरोध जनाउनुभएको थियो । उहाँले बाँकेका तत्कालिन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले केही व्यक्तिको स्वार्थका लागि एसईईको परीक्षा केन्द्र निर्धारणमा चलखेल गरेको आरोप सार्वजनिक रुपमा लगाउनु भएको थियो ।
त्यसको एक सातापछि बाँकेको खजुरा गाउँपालिकामा कक्षा ८ को गाउँपालिकास्तरीय बोर्ड परीक्षाको केन्द्र अव्यवहारिक रुपमा तोकिएको भन्दै विभिन्न विद्यालयका अध्यक्ष एव प्रतिनिधिहरुले बिरोध गर्नु भएको छ । विद्यार्थीहरुको सहजतालाई लत्याउँदै अपायक तरिकाले परीक्षा केन्द्र तोकेको उहाँहरुको आरोप छ । खजुुरामा चैत १५ देखि कक्षा ८ को परीक्षा संचालन हुँदैछ ।
खजुराका सात वटा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एव प्रतिनिधिहरुले शनिबार संयुक्तरुपमा एक विज्ञप्ती जारी गर्दै परीक्षा केन्द्र निर्धारणमा राजनितिकरण गरिएको भन्दै विद्यार्थीहरुको सहजतालाई ध्यान दिन माग गर्नु भएको छ । उहाँहरुले विगतमा तोकिएको स्थानमा नै परीक्षा केन्द्र तोकेर सहज बनाउन विज्ञप्ती मार्फत माग गर्नु भएको छ ।
यस वर्षको परीक्षा केन्द्र नियतबस तोकिएको खजुरा–६ स्थित भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समसुद्धवा खाँ (बदाम)ले बताउनुभयो । उहाँले पहिलेको स्थानमा रहेका परीक्षा केन्दरुलाई रद्द गरी आफूहरुको क्षेत्रका विद्यालय नराखी नियतबस तोकिएको आरोप लगाउनु भयो ।

……..
यसअघिका वर्षमा कक्षा ८ को वार्षिक परीक्षा केन्द्रका रुपमा गाउँपालिकाका ९ वटा विद्यालय तोकिएका थिए । यो वर्ष त्यसलाई घटाएर ४ वटा विद्यालयमा मात्र परीक्षा केन्द्र तोकिएको छ । परीक्षा केन्द्र नतोकिँदा यस क्षेत्रमा अध्ययन गर्ने एवं परीक्षा दिने विद्यार्थीहरुलाई आवत जावत गर्न कठिनाई हुने पशुपति माध्यमिक विद्यालय खजुरा ८ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इल्यास खानले आरोप लगाउनुभयो ।
‘सबै क्षेत्रका विद्यार्थीहरुलाई सहज हुने गरी परीक्षा केन्द्रहरु निर्धारण गर्नुपर्ने हो, तर यहाँ त विद्यार्थीहरुको सहजता नभइ आफुखशी हुँदा समस्या भयो, विद्यार्थीहरुको आवत जावतलाई ध्यान दिनुपर्दैन ?,’ अध्यक्ष खाँनले भन्नुभयो, ‘पुराना परीक्षा केन्द्रहरुलाई कायम गर्नुपर्छ ।’
उहाँहरुले खजुरा गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष फारुक शेषले व्यक्तिगत रिसिइबी र राजनीतिका कारण शिक्षा नियमावली विपरित केन्द्र सिफारिस गरिएको कुराप्रति खेद प्रकट गर्नु भयो । वडाअध्यक्ष शेषले भानु विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित सदस्यहरुसंगको बैचारिक विमतीका कारण भौतिक पुर्वाधारको पहुँच हुँदा–हुँदै परीक्षा केन्द्र हटाउन गरेको सिफारिस खेद जन्य छ, जारी विज्ञप्तीमा उल्लेख छ ।
विद्यार्थीको सहजताको लागि विगतमा रहेका परीक्षा केन्द्र निर्धारणमा चलखेल गरी एकदमै कम तोक्नुको कारण खोजिएको छ भने विगतका केन्द्रलाई नै कायम गर्न जोडदार माग गरिएको छ । वडा नम्बर ६ का वडाअध्यक्ष शेषले यही फागुन २० गते गाउँपालिका शिक्षा शाखालाई विगतमा परीक्षा केन्द्र भएका विद्यालयहरुमा विविध समस्या देखाउँदै अन्यत्र तोक्न सिफारिस गर्नुभएको थियो ।
यसरी गरिएको अव्यवहारिक निर्णय सच्याउन अमृत प्रावि खजुरा ७ का अध्यक्ष शिव कुमार कोरी, जनता मावि खजुरा ७ का वडा सदस्य सब्बर खां, नेरा आवि खजुरा ८ का अध्यक्ष रफिक साई, नेरा आवि खजुरा ७ गोदहनाका सदस्य हुकुमदार खाँ र नेराप्रावि खजुरा ५ रजनवाका अध्यक्ष मनोज कुर्मीले माग गर्नुभएको छ ।