रामलीला मैदानमा सार्वजनिक जीवनमा महिला फोटो प्रदर्शनी हुदै
Saturday, March 15th, 2025, 9:09 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ चैत
नेपाल पिक्चर लाइब्रेरीको ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ प्रदर्शनीको देशव्यापी यात्रा फोटो प्रदर्शनी सोमबार देखि नेपालगन्जमा सुरु हुँदैछ । देशव्यापी यात्राको दोस्रो चरणमा हुन लागेको प्रदर्शनी नेपालगन्जको रामलीला मैदानमा चैत ४ देखि ६ गते सम्म चल्नेछ । प्रदर्शनी हेर्नका लागि निःशुल्क व्यवस्था गरिएको छ ।
पहिलो चरण वीरगंज र जनकपुरको सफलता पछि दोस्रो चरण सुर्खेत र नेपालगन्जमा हुँदैछ । यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरु भएको हो । २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो । प्रदर्शनीले अहिले सम्म काठमाडौँ (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा यात्रा गरिसकेको छ ।
यस परियोजनाको मुख्य उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास, र सामुदायिक संलग्नता मार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु रहेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्न चाहेको छ ।
देशव्यापी यात्रा विभिन्न क्षेत्रमा हुने प्रदर्शनी लूपहरूमा आधारित हुनेछ, जसले ग्रामीण र शहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न, र महिलाहरूको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्ने परियोजनाकी सम्झना नेपालीले बताउनु भयो ।
आयोजक नेपाल पिक्चर लाइब्रेरी एक स्वतन्त्र डिजिटल फोटो अभिलेख हो । जसले नेपालको इतिहासलाई विविधता प्रदान गर्दै सबैका लागि पहुँचयोग्य र समावेशी सार्वजनिक अभिलेख श्रीजना गर्ने उद्देश्य राखेको छ ।