नेपालगन्जलाई ब्रान्डिङ गर्ने प्रोजेक्ट बन्दैं होटल पौवा
Thursday, March 20th, 2025, 7:45 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, चैत ७ गते
पश्चिम नेपालको होटल र प्रर्यटन व्यवसायमा नयाँ अभ्यासको प्रयोग गर्दै सूरुआत हुने तयारीमा पुगेको छ होटल पौवा । बाँके जानकी गाउँपालिका–०३ मानपुरमा होटलको निर्माण कार्य अहिले तिव्र गतिमा भैरहेको छ । करिब एक अर्ब लगानीमा निर्माण हुन लागेको होटल पौवाले पश्चिम नेपालको आर्थिक विकासमा महत्वपुर्ण प्रभाव पार्ने विश्वास लिइएको छ । होटल पौवाले नेपालगन्जलाई आर्थिक हबको रुपमा चिनाउन थप ब्रान्डिङको काम गर्ने यसका संचालकहरु बताउनु हुन्छ ।
क्यासिनो, स्विमिङ पुल, १५ सय जना अटन सक्ने हल, नेपाली परम्परागत खानालाई ब्रान्डिङ गर्ने लक्ष्य सहित पाँच तारे होटल पौवाको आगामी नयाँ वर्षको अवसरमा सुरुआत गर्ने तयारी भैरहेको छ । होटल पौवाको अर्को विशेषता हो, युवालाई स्वदेशमै केहि गर्न अभिप्रेरित गर्नु । नेपाली युवाहरुलाई स्वदेशमै स्वरोजगार हुने सपना देखाउने गरी होटलको व्यवस्थापनलाई अगाडी बढाइरहेको बताउनु हुन्छ होटल पौवा प्रालीका अध्यक्ष दुर्गा प्रसाद भण्डारी । उहाँले भन्नु भयो, ‘नेपालमा केहि छैन भन्नु हुन्छ धेरै युवाहरुले । तर त्यो होइन, यहाँ धेरै छ गर्नको लागि । सकारात्मक भएर काम गरेपछि युवाहरुले प्रर्यटन, व्यापार, होटल व्यवसायजस्तै अन्य थुप्रै क्षेत्रमा राम्रो काम गर्न सक्नुहुन्छ ।’
२०७३ सालदेखि सुरु भएको पौवालेले हालसम्म देशका विभिन्न ठाउँमा गरी १७ औं शाखा बिस्तार गर्न सफल भएको छ । नेपालगन्जमा निर्माण हुन लागेको होटेल पौवाको १७ औं शाखा हो ।
होटल पौवा वेष्टर्न प्रालिले नेपालगन्जमा निर्माण गरिरहेको होटेलमा रेष्टुरेन्ट र बैंकट हलका लागि ‘बुकिङ’ समेत खुल्ला गरेको छ । होटलको भौतिक संरचना धमाधम बनाइरहेको होटलले रेष्टुरेन्ट र हल भने निर्माण गरिसकेको छ । त्यसको बुकिङ खुल्ला गरिएको हो ।

………
बैशाख १ देखि नयाँ खोलेको बुकिङ अनुसार बिवाह, ब्रतबन्ध, साधारणसभा, अधिवेशन, भोज, भेला, बैठक जस्ता कार्यक्रमहरु गर्न सकिनेछ । पाँच तारे होटल हुनेबितिकै सामान्य मानिस छिर्न नसकिने भन्ने सोंचलाई बिस्थापित गरेर त्यस्ता सामान्य मानिसहरु पनि होटेलमा गएर आवश्यकता अनुसारका सेवा लिने सकिने गरी संचालन गरिने होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
स्थापनाको ८ वर्षमा होटल पौवा प्रालिले मुलुकका विभिन्न स्थानसहित नेपालगन्जमा पनि शाखा स्थापना गर्न थालेको उहाँले बताउनुभयो । अबको दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने योजना रहेको सञ्चालक समितिले जनाएको छ । होटेलमा बैंकट हलसहित नेपाली किचेन पनि रहेको छ ।
नेपाली किचेन खासगरी सामान्य खालको व्यक्तिहरुलाई लक्षित गरेर संचालन हुने प्रालिका अध्यक्ष भण्डारीले बताउनुभयो । ‘पाँच तारे होटेल भन्ने बितिकै पैसा वाला व्यक्ति मात्रै जान सकिने सोंच हुन्छ,’ प्रालिका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘तर हामीले ति कुरालाई पनि चिर्दै सामान्य खाल (मध्यम वर्गीइ) व्यक्ति पनि होटेलमा गएर सेवा लिन सकिने गरी नेपाली किचेन निर्माण गरेका छौं ।’
होटलमा फरक–फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुमसहित ९६ वटा कोठा, २ वटा स्वीमिङ पुल, क्यासिनो र स्पा लगायत सुविधा हुने बताइएको छ । स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्देश्यसहित कार्यान्वयनमा आएको योजनाले करिब २ सय ५० जनालाई रोजगारी दिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

……….
‘१२ वटा शाखामा स्थानीय लगानीकर्ता रहेका छन् । यसले स्थानीयस्तरबाट पनि सहयोग भएको हुन्छ । लगानीकर्ताका रुपमा ५० जना हाम्रै कर्मचारी पनि हुनुहुन्छ,’ प्रालिका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘जो जति पुँजी लगाएर सहभागि हुन सक्ने अवसर पनि दिएका छौं, यसरी थोरै लगानीमा पनि कमाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका छौं ।’
केही पैसा काम मिहिनेत गरेर कमाउन सकिने र केही पैसा लगानीबाट पनि कमाउन सकिने सोंचको समेत विकास गर्न आफुहरु कर्मचारीहरुको लगानीलाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीको भनाई छ । हाल साढे ३ बिगहा जग्गामा निर्माणधिन होटेलका लागि अझै १० कठ्ठा थप्ने योजना रहेको छ ।
हाल होटेलका लागि १५ जना कर्मचारी रहेका छन् भने बुकिङ्ग खुल्ला हुनसाथ बैशाखसम्म थप ४० जना कर्मचारी राख्ने होटेलको तयारी छ । होटेलको सबै काम सम्पन्न भएर पूर्णरुपमा संचालनमा आएसँगै सय जनालाई होटेलले रोजगारी दिने पनि अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
‘होटेलका लागि चाहिने सबै कुरा स्टेप बाइ स्टेप भइरहेको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘बिस्तारै यहाँको आवश्यकता अनुसार जग्गादेखि कर्मचारी हायर गर्ने काम हुँदै जानेछ ।’ अध्यक्ष भण्डारीका अनुसार हाल जग्गासहित गरेर १ अर्ब लागत रहेको छ भने पछि नेपालगन्जको आवश्यकता अनुसार होटेल संचालन गरिनेछ ।
अहिलेसम्म कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बागमती प्रदेशको काठमाडौं र सौराहामा सेवा दिन सुरु गरिसकेको होटल पौवा प्रालिले जनाएको छ ।
लुम्बिनी प्रदेशको भैरहवा, दाङको भालुवाङ, लमही र घोराही, बुटवलको योगीकुटी, कपिलवस्तुको गोरुसिंगेमा सेवा दिइरहेको जनाएको छ । होटल पौवाले पाल्पाको तानसेन र गुल्मीको रेसुंङ्गामा रिसोर्टसहित होटल सञ्चालन गरिरहेको छ ।
क्याप्सनः निर्माणधिन होटल परिसरमा होटल पौवा प्रालीका अध्यक्ष दुर्गा प्रसाद भण्डारी । तस्विरः कमल खत्री