टयाङ्करको ठक्करले दुई बालकको मृत्यु, चौकी घेराउ गर्दै आगजनी
Sunday, March 23rd, 2025, 8:54 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० चैत
बाँकेको बेतहनी चोकमा ट्यांकरले ठक्कर दिँदा एलकेजीमा अध्ययनरत दुई जना बालकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपरान्ह् स्कुलबाट घर फर्किँदै गरेका स्थानीय दुई बालकलाई पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा घट्नास्थलमा ज्यान गएको थियो ।
स्थानीय विशाल कुमार गोडिया र शिव कुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो । प्रत्यक्षदर्शीका अनुसार, ट्यांकरको ठक्करबाट सडकमा लडेर चिच्याउँँदै गरेका बालकलाई पछाडीबाट किचेको थियो । अन्दाजी ९/१० बर्षका उनीहरु सहोदर दाजुभाई भएको बताइएको छ । मृतक बालक बेतहनी चौकमा रहेको नौरीगौढी एकेडेमीबाट घर फर्किन लागेको स्थानीयले बताए ।
दुबै जना बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार बालकको मृत्युपछि स्थानीयले बेतहनी चोकमा प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त बनाएका छन् ।
चालकलाई कारबाहीको माग गर्दै स्थानीयले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका थिए भने प्रहरीले चालकको संरक्षण गरेको स्थानीयले आरोप लगाएका छन् । आक्रोशित प्रदर्शनले बेतहनी चोक नजिकै रहेको इलाका प्रहरी कार्यालय बेतहनीमा ढुंगामुढा गरेका छन् । उनीहरुले ढुंगामुढासहित चौकीमासमेत आगजनी गरेका छन् ।
चौकीमा आक्रमण भएपछि प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको थियो । सो क्रममा प्रहरीले दजनौ आँश्रु ग्याँस र केहि राउण्ड हवाई फायर गरेको छ । उनीहरुको प्रदर्शन तथा आक्रोशले आइतबार साँझसम्म बेतहनी क्षेत्र तनावग्रस्त बनेको थियो । त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । ट्यांकर चालक कर्णबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उठेन बालकहरुको शव
दुर्घटनामा मृत्यु भएका दुबै बालकको आइतबार शव उठेको छैन । परिवार तथा आफन्तले शव उठाउन नदिएपछि प्रहरीले शव उठाउन नसकेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं सूचना अधिकारी दिपक पातलीले परिवार तथा आफन्तले शव उठाउन नदिएको बताउनुभयो ।
ॅशव दुर्घटनास्थलमै रहेको छ, परिवार आफन्त र स्थानीय शव उठाउन दिएका छैन्न,’ बेतहनीका एक स्थानीयले भने, ॅट्यांकरका चालकलाई कारवाही र क्षतिपुर्तिको माग गरिएको छ । यसैमामा सहमति नहुँदा शव उठ्न नसकेको हो ।’ यो समाचार तयार पार्दा राती नौं बजेसम्म पनि शव दुर्घटनास्थलमै रहेको छ । स्थानीय र आफन्त चोकमा बसेका छन् ।
ट्याँकर चालकले रक्सी खाएको हुँदा यस्तो भएको भन्दै स्थानीयले कारवाही हुनैपर्ने माग गर्दै आएको एक स्थानीयले बताए । यता प्रहरी प्रवक्ता पातलीका अनुसार राती यो समाचार तयार पार्दासम्म पिडित र पिडक पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ ।