किन आवश्यक छ नेपालगन्जमा सुख्खा बन्दरगाह ?
Tuesday, March 25th, 2025, 6:54 am
Kalpristha
भिष्म लोध
नेपालगन्ज, १२ चैत
पश्चिम नेपालको ठुलो शहर तथा औद्योगिक नगरी नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माणको माग बढदै गएको छ । संघीयतापछि नेपालगन्जलाई औद्योगिक हबका रुपमा विकास गर्न सुख्खा बन्दरगाह महत्वपुर्ण भएको भन्दै यसको निर्माण गर्न यहाँका उद्योगी व्यवसायीले दबाबमुलुक अभियानको सुरुआत गरेका छन् ।
यसैसाता नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा गएको नेपालगन्जका उद्योगीहरुले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर सुख्खा बन्दरगाह निर्माण कार्यलाई अगाडी बढाउन अनुरोध गरेको छ ।
पछिल्लो समय किन उठिरहेको छ त नेपालगन्जमा सुख्खा बन्दरगाहको माग । यसको महत्व के छ भनेर हामीले नेपालगन्जका उद्योगपति प्रदिप छाजेडलाई सोधेका थियौं । केएल दुगर्ड ग्रुपका पश्चिम क्षेत्रका निर्देशक छाजेड भन्नु हुन्छ, ‘नेपालगन्जलाई हामीले उद्योगको हब भनेर विकास गर्न खोजेको छौं । विगतमा नेपालगन्ज उद्योग, व्यापारको हब थियो तर पछिल्लो समय धेरै परिवर्तन भएका छन् । यातायातले व्यापारमा धेरै असर गर्छ ।
नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुन सके भारत र नेपाल दुबै तर्फबाट आउने जाने भाडादर सस्तो पर्छ । यसले गर्दा कच्चा पदार्थ आयात तथा निर्यात गर्दा लागत कम पर्न जान्छ । भाडादर कम हुँदा हामीले देशभरका उद्योगसँग प्रतिस्पर्धा गर्न सक्छौं । यसले प्रत्यक्ष रुपमा पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको व्यापारमा प्रभाव पार्न सक्छ ।’
निर्देशक छाजेडले भनेजस्तै यसको महत्वलाई बुझेर नेपालगन्ज उद्योग वाणिज्य संघले यसलाई महत्वका साथ अगाडी बढाईरहेको छ । ॅनेपालगन्जका लागि सुख्खा बन्दरगाहको आवश्यकता छ, यो हुनसके यस क्षेत्रका व्यवसायीलाई धेरै सहज हुने बताउनु हुन्छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष चिरन्जिवी ओली । पछिल्लो समय नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसक्ने आधारहरु तयार हुन थालेको उहाँले बताउनु भयो । यहाँको अर्थतन्त्रलाई अझ बलियो बनाउनका लागि पनि नेपालगन्जमा बन्दरगाहको तड्कारो रहेको कार्यबाहक अध्यक्ष ओलीको भनाई छ ।
पश्चिम नेपालको अर्थतन्त्रलाई नै बलियो बनाउन सक्ने योजना भएको भन्दै नेपालगन्ज नाकामा सुख्खा बन्दरगाह निर्माण कार्यको सुरुआत छिटै हुनुपर्ने बताउनुहुन्छ संघका कोषाध्यक्ष मख्खन धामी । यसले यहाँको उद्योगको उत्पादनलाई समेत देशभरको प्रतिस्पर्धाको बजारमा उभ्याउन सक्ने आधार निर्माण गर्ने धामीले बताउनु भयो ।
बन्दरगाह निर्माण हुँदा पारवाहन खर्च कम हुने र बाहिरबाट नेपाल ल्याइने सामानको मुल्यमा कमि ल्याउने धामीले बताउनु भयो । व्यवसायीहरुले भारत तथा तेस्रो मुलकबाट ल्याउने सामान विभिन्न ठाउँमा लोड अनलोड गरेर यहाँसम्म आउने गरेको छ । यसले ढुवानीको भार बढाएको र विभिन्न झन्झटहरु निम्तिँदै गएको व्यवसायीहरुको भनाई छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जमा सुख्खा बन्दरगाह सजिलै निर्माण गर्न सकिने र यसले यहाँका सबैलाई सहज बनाउने बताउनुभयो । सुख्खा बन्दरगाहले निर्यातमा सहजता ल्याउने र सामानलाई सस्तो बनाउने श्रेष्ठको भनाई छ ।
उहाँका अनुसार सुख्खा बन्दरगाह निर्माण गर्न सक्ने थुपै्र आधारहरु छन् । राज्यले चाहने हो भने नीतिगत परिवर्तन गरेर गर्न सक्ने श्रेष्ठले बताउनु भयो । हाल निर्माण भएको एकीकृत भन्सार जाँच चौकीलाई बन्दरगाहमा परिणत गर्न सकिन्छ । यस्तै भारत सरकारले पुरानो तथा सानो रेलवे लाईनलाई हाल दशगजा नजिकसम्म ल्याएको र ठुलो लाईन निर्माण गर्न लागेको छ ।
रेलको ठुलो लाईन निर्माणले सामानहरु निर्यातमा सहजता ल्याउने व्यवसायीहरु बताउँछन् । कोलकत्ता बन्दरगाह तथा दिल्लीबाट आउने सामान सिधै रेलमार्फत यहाँसम्म सहजरुपमा ल्याउन सकिन्छ । नेपालगन्जमा सुख्खा बन्दरगाह हुनुपर्ने कुरा बिगत दुई वर्षदेखि उठाउँदै आएको श्रेष्ठले बताउनुभयो ।
नेपालगन्ज औद्योगिक नगरी हो । तेस्रो मुलुक तथा भारतबाट कच्चा पदार्थ ल्याएर नेपालगन्जमा पनि थुपै्र बस्तुको उत्पादन तथा निर्माण हुने गरेको छ । हाल तेस्रो मुलकबाट निर्यात गरिने सामानहरु कोलकत्ता बन्दरगाह आउने त्यसपछि बिरगंज आएर मात्रै नेपालगन्ज पुग्ने गरेको छ । यसैको माग गर्दै यहाँका उद्योगी व्यवसायीले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।
‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवा पुग्नेछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेश्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य रहेको छ ।’
यस्तै अर्थमन्त्री पौडेलले बन्दरगाह निर्माणका लागि डिपिआर गर्नका लागि सहमति जनाउनुभएको छ ।
के हो त सुख्खा बन्दरगाह ?
सुक्खा बन्दगाह (कहिले काहीं आन्तरिक बन्दरगाह पनि) एउटा आन्तरिक इन्टरमोडल टर्मिनल हो जुन सडक अथवा रेलसंग सीधा जोडिएको हुन्छ र यस सडक अथवा रेलले सुक्खा बन्दगाहलाई सीधा समुद्री बन्दरगाहसंग जोड छ । सुक्खा बन्दरगाहले माल–सामानलाई आन्तरिक गन्तव्यहरूमा पठाउने केन्द्रको रूपमा काम गर्छ ।
थप भन्नुपर्दा, माल–सामान वितरणको सिलसिलामा, सुक्खा बन्दरगाहमा माल–भण्डारण, जमाउने सुविधा, सामान ढुवानी गर्ने वाहन जस्तै की रेलको डिब्बा र ट्रकको मेन्टेनेन्स (रख–रखाव), भन्सार निकासी सुविधा इत्यादिको व्यवस्थाहरु पनि हुन सक्छ । सुक्खा बन्दरगाहको सुविधाहरूको तुलना समुद्री बन्दरगाहसँग गर्नु पर्यो भने समुद्री बन्दरगाह भन्दा सुक्खा बन्दरगाह बढी आरामदायक हुन्छ ।
एकीकृत भन्सार जाँच चौकी (आईसीपी)ले के काम गर्छ ?
अन्तरदेशीय सीमा नाकामार्फत हुने नियन्त्रित वस्तु व्यापार र मानव आवागमनको व्यवस्थापन र सुविधाका लागि आवश्यक विभिन्न भौतिक संरचनाहरूमध्ये एकीकृत भन्सार जाँच चौकी (आईसीपी) एक हो । यस्ता जाँच चौकीमा निर्माणको समयमा उपलब्ध अत्याधुनिक प्रविधि र सुविधाहरू जडान गरिएका हुन्छन् । समयक्रमसँगै त्यस्ता प्रविधि र सुविधाहरू पुराना हुने हुँदा अद्यावधिक पनि गरिन्छन् ।
आईसीपीमा भन्सार, क्वारेन्टाइन, पार्किङ, भण्डार, बैङ्क, सटही केन्द्र, गाडी तौलने मेसिन जस्ता प्रत्यक्ष व्यापारिकदेखि स्वास्थ्य, हुलाक, आराम गृह, सुरक्षा बन्दोबस्तीलगायतका अन्य अप्रत्यक्ष तर अत्यावश्यकीय पूर्वाधार र सुविधाहरू रहेका हुन्छन् । त्यसका साथै अद्यागमनका लागि थप पूर्वाधार र सुविधा पनि यसका अभिन्न अङ्ग रहन्छन् । वैदेशिक व्यापारलाई सहज बनाउन आईसीपीहरू सीमा जोडिएका दुबै देशका भूभागमा समान स्तरका बनाइन्छन् । तर देशहरू अनुसार फरक पनि हुन सक्छन् ।