सहकारी दिवसमा नेपालगन्ज गरियो रक्तदान
Thursday, March 27th, 2025, 7:01 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बाँकेको मुख्य आयोजनामा भएको रक्तदानमा आधा दर्जन संघसंस्थाले आयोजकको रुपमा सहकार्य गरेका थिए ।
क्षेत्रीय रक्तसंचार केन्द्र भेरी अस्पताल परिसरमा बुधबार नेपालगन्ज उप–महानगरपालिका भित्रका सहकारीहरूको सहयोगमा रक्तदान गरिएको थियो । रक्तदानमा १ सय ८३ जनाले रक्तदान गरेको मुख्य आयोजक जिल्ला सहकारी संघ लिमिटेड बाँकेका कार्यकारी प्रमुख नवराज उपाध्यायले बताउनु भयो । रक्तदान कार्यक्रममा गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पहलमा ३५ जनाले रक्तदान गरेको अध्यक्ष प्रदिप चौधरीले बताउनु भयो ।
चैत २० गते देशव्यापी रुपमा ६८औं राष्ट्रिय सहकारी दिवस मनाईदैछ । ‘सहकारीमा सुशासनः प्रविधि र एकिकरण’ भन्ने नाराका साथ बाँकेमा पनि साताव्यापी कार्यक्रम गरिदैछ ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाँकेको समन्वयमा नेपालगन्जमा भएको रक्तादान कार्यक्रममा आयोजकको रुपमा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाँके, बहुउद्देश्यीय जिल्ला सहकारी संघ लिमिटेड बाँके, जिल्ला कृषि सहकारी संघ लिमिटेड बाँके, जिल्ला सामाजिक उद्यमी सहकारी संघ लिमिटेड बाँके, राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगन्ज, कोहलपुर शाखा, नेफ्स्कुन सदस्य सेवा कार्यालय बाँके, बाँके जिल्ला स्थित सम्पुर्ण प्रारम्भिक सहकारी संस्थाहरुले काम गरेका थिए ।
यसैगरी यसअघि कोहलपुर नगरपालिकामा भएको रक्तदानमा १ सय २४ जना, बैजनाथ गाउँपालिकामा १ सय ८१ जनाले रक्तदान गरेको प्रमुख कार्यकारी उपाध्यायले बताउनु भयो । आज बिहिबार खजुरा र राप्तीसोनारीमा रक्तदान कार्यक्रमको आयोजना गरिदैछ ।