किन हुँदैछ नेपालगन्जमा रोजगार मेला
Thursday, March 27th, 2025, 7:20 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ चैत
‘स्वदेशमै रोजगारी, स्वदेशमै बास, रोजिदैंन प्रवास, अब गर्ने देश विकास’ भन्ने नाराका साथ नेपालगन्जमा शुक्रबारदेखि दुई दिने बाँके रोजगार मेला हुन लागेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा दुई दिने बाँके रोजागर मेला– २०८१ को आयोजना गर्न लागेको छ । स्थानीय रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको संघले जनाएको छ ।
चैत १५ गते शुक्रबार र शनिबार १६ गते नेपालगन्जमा बाँके रोजगार मेला हुनेछ । मेलालाई उपलब्धीमूलक बनाउन विभिन्न तह÷तप्कासँग समन्वय सहकार्य गरिएको संघका महासचिव एवम् मेला संयोजक भीमबहादुर रानाभाटले जानकारी दिनुभयो ।
‘मेलामा यहाँका सबै क्षेत्रको समन्वय सहकार्य हुनको लागि एक चरणमा छलफल गरिएको छ,’ मेला संयोजक रानाभाटले भन्नुभयो, ‘त्यस क्रममा धेरैको सहकार्य हुने छलफल भएको छ । यसले रोजगारीका धेरै अवसर सार्वजनिक पनि हुनेछ ।’
मेलामा श्रम क्षेत्रका बिस्तृत समस्या र सम्भावनाका विषयमा बहस पनि गरिनेछ । त्यसक्रममा नेपालगन्ज किराना व्यवसायी संघ, इट्टा व्यवसायी संघ बाँके तथा विभिन्न उद्योगी व्यवसायी संघ र व्यवसायीहरूसँग छलफलसमेत गरिएको मेला संयोजक रानाभाटले बताउनुभयो ।

………….
मेलालाई सफल र प्रभावकारी बनाउनको लागि संघले निजी क्षेत्रका रोजगारदाता कम्पनीहरूसँग पनि निरन्तर संवाद गरेको संयोजक रानाभाटले बताउनु भयो । उहाँले भन्नु भयो, ‘रोजगार मेलाको प्रभावकारिताको लागि सरोकारवालाका साथै यहाँका सबै स्थानीय तहहरुसँग पनि सहकार्य गरिएको छ । मेलाको प्रभावकारीतालाई व्यापक बनाउनको लागि यहाँ सबै पालिकाका रोजगार सेवा केन्द्र प्रमुखहरुको पनि सक्रियता रहेको छ ।’ धेरैभन्दा धेरैको लागि रोजगार प्रवद्र्धन गर्ने अवसर प्रदान गर्न सरोकारवालाहरू बीच ‘प्यानल डिस्कसन’ समेत गरिनेछ ।
रोजगार मेलामा तालिम प्रदायक संघ, संस्थालाई समेत आमन्त्रण गरिएको नेपालगन्ज उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख मञ्जु ज्ञवालीले बताउनुभयो । शैक्षिक बेरोजगारहरूको लागि रोजगारको सुनिश्चितता तालिम प्रशिक्षणले सम्भव हुन्छ ।’ रोजगार संयोजक ज्ञवालीले भन्नुभयो, ‘मेलामा सामाजिक सुरक्षा कोषबारे जानकारी दिन स्टल पनि राखिनेछ ।
‘उद्योगमा दक्ष-अदक्ष सबैखाले जनशक्तिको आवश्यकता रहेको हुन्छ’, संघका प्रथम उपाध्यक्ष चिरन्जिवी ओलीले भन्नुभयो, मेलाले रोजगारी खोजिरहेकाहरूसँग रोजगारदाताहरूको प्रत्यक्ष भेट हुनेछ ।
यसरी उहाँहरुबीचको सहभागिताले पुलको काम हुनेछ, संघको उपाध्यक्षसमेत रहनुभएका प्रथम उपाध्यक्ष ओलीले भन्नुभयो ‘यसले सकारात्मक सुरुवात हुन्छ ।’ संघले स्थानीय सरकारसँग हातेमालो गरेर बेरोजगारलाई रोजगारीसँग जोड्ने र स्वरोजगारसमेतको पहल हुने प्रथम उपाध्यक्ष ओलीले बताउनुभयो । उहाँका अनुसार त्यसका बाँकेका साना, ठूला रोजगार प्रदायक कम्पनीहरूसँग भेटघाट भएको छ ।
संघका अनुसार मेलामा उद्योगी व्यवसायी तथा कम्पनीहरुको स्टलहरु हुनेछ । ती स्टलहरुले आफ्ना उद्योग तथा कम्पनीहरुमा रोजगारको प्रकार र सख्ंयाका बारेमा जानकारी दिने छन् भने रोजगार खोजेकाले आवश्यकता अनुसारको कम्पनी तथा उद्योगसँग सहकार्य गरेर आफ्नो कामलाई सुनिश्चित गर्न सक्ने छन् ।
सरकारले रोजगारीको सुनिश्चितताका लागि हरेक पालिकामा रोजगार शाखाको व्यवस्था गरेको छ । यसरी हरेक पालिकाले आफ्नो पालिकामा बेरोजगारहरुको विवरण संकलन गरेर राखेको छ । मेलामा बेरोजगारको विवरण भरेका त्यस्ता व्यक्तिहरुको सहभागिता हुनेछ । प्रथम उपाध्यक्ष ओलीका अनुसार मेलामा पालिकामा भएका बेरोजगारहरुलाई सहभागिता गराउन आवश्यक पहल गरिएको छ ।
‘गाउँपालिकाहरुले संकलन गरेको बेरोजगारहरुको तथ्याँक अनुसारका व्यक्तिहरुलाई पनि सहभागि गराइनेछ,’ प्रथम उपाध्यक्ष ओलीले भन्नुभयो, ‘बेरोजगारले चाहेको रोजगार पाउनका लागि हरेक पालिकाले ती सबै बेरोजगारलाई मेलास्थलसम्म ल्याउने वातावरण तयार गरेको छ जसले रोजगारदातासँगको भेट सहज बनाउनेछ ।’
मेलाले युवाहरुलाई स्वदेशमै व्यवसाय र उत्पादनशिल क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष मख्खन बहादुर धामीले बताउनुभयो । उहाँले भन्नु भयो, ‘यो मेलाले युवाहरुमा सकारात्मक सम्भावनाको उजागर गर्दै आर्थिक क्षेत्रको विकासमा योगदान गर्ने हाम्रो विश्वास छ ।’

……….
रोजगार मेलामा रोजगारदाताको उत्साहजनक सहभागिताका महत्वपूर्ण सहकार्यहरु पनि संघले गरेको जनाएको छ । संघले यसलाई दक्ष जनशक्तिको खोजी, तयारीसँगै बेरोजगारहरूको व्यवस्थापन गर्ने अभियान मानेको छ । मेलामा करिब १० हजार जनाको सहभागिता हुने संघको अनुमान छ ।