वर्षको उत्कृष्ट सहकारी शुद्ध गोरस
Wednesday, April 2nd, 2025, 10:00 pm
Kalpristha
६८औं सहकारी दिवस
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० चैत
नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले निम्न स्तरको जनताको आयस्तरलाई बढाउँदै आर्थिक विकासमा सहकारीले महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । ६८औं सहकारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले सहकारीले नेपालको आर्थिक स्तरलाई माथि उठाउन महत्वपुर्ण योगदान गरेको बताउँदै सहकारीको व्यवस्थापनलाई थप बलियो बनाउँदै जानु पर्ने बताउनु भयो ।
नेपालगन्ज उप–महानगरपालिकाले सहकारीको क्षेत्रको विकासको निम्ति प्रभावकारी योजना बनाएर काम गर्ने बताउनु भयो । ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपालगन्ज उप–महानगरपालिकाले शुद्ध गोरस दुग्ध उत्पादक सहकारी संस्थालाई नगद २५ हजार रुपैयाँ सहित वर्षको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको छ ।
कार्यक्रममा नगर प्रमुख विष्ट सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ अध्यक्ष गोपाल पुन, बचत तथा ऋण सहकारी संघ बाँके अध्यक्ष प्रेम शाह, नेपालगन्ज उप–महानगरपालिका सहकारी शाखा प्रमुख प्रविण राना, जिल्ला सहकारी संघ लिमिटेडका प्रबन्धक नवराज उपाध्याय, नेफस्कुन नेपालगन्ज सेवा कार्यालय प्रमुख छत्र धमाला लगायतले पुरस्कृत गर्नु भएको थियो ।
नेपालगन्जका सहकारीले ¥यालीको आयोजना गरेर कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रममा सहकारीको वर्तमान अवस्था, सहकारी क्षेत्रका समस्या समाधान गर्दै नयाँ सम्भावनालाई आत्मसाथ गर्दै अगाडी बढनु पर्ने वक्ताहरुले बताउनु भएको थियो ।
यसैगरी बुधबार सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै बाँकेमा पालिका स्तरमा पनि ६८औं सहकारी दिवसको अवसरमा साताव्यापी रुपमा विभिन्न कार्यक्रमहरु भएका थिए ।