थपुवामा आर्थिक क्रान्ति ल्याउँदै शुद्ध गोरस
Friday, May 2nd, 2025, 5:45 pm
Kalpristha
भिष्म लोध
नेपालगन्ज, १९ बैशाख
नेपालगन्ज उपमहानगरपालिकामा रहेपनि एउटा ग्रामीण गाउँका किसानहरुले दुध बिक्रीका लागि कम्ती समस्या झेलेनन् । नेपालगन्ज सुगम ठाउँको दुर्गम गाउँमा रहेका किसानहरु आफ्नै गाउँ ठाउँमा गाई भैंसी पालन गरेर केही गर्न खोज्दा उत्पादित दुध विक्रीका लागि बजार आउनुपर्ने, आएपछि पनि सो दुध बिक्री नभएर फिर्ता लैजानुपर्ने जस्ता समस्या भोगे ।
यतिमात्र नभएर नेपालगन्जको राँझा बजार पुग्न पनि गाह्रो भइ भइ पुग्नुपर्ने बाध्यता थियो । जसोतसो बजार पुगियो भनेपनि दुध नै बिक्री हुँदैनथ्यो, फिर्ता लिएर आउनुपर्ने बाध्यता रहेको बताउँनुहुन्छ शुद्ध गोरस दुग्ध उत्पादक सहकारीका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने । ‘उत्पादित दुध खानेपानीको बोतल (मिनरल वाटर) मा भरेर राँझा बजार लिएर जान्थ्यों, पसल पसल दुध लिइ दिनुप¥यो भनेर आग्रह गर्नुपथ्यो,’ न्यौपाने भन्नुहुन्छ, ‘कतिपयले अपमानित पनि गर्थे, भने विक्री नभएपछि फिर्ता ल्याउनुपथ्र्यो ।’
‘बाटोघाटो पनि राम्रो थिएन, राँझा बजार गाह्रो गाह्रो भएर पुगिन्थ्यो,’ न्यौपाने त्यो दिन सम्झिँदै भन्नुभयो, ‘सर अहिलेको जस्तो अवस्था थिएन्, बल्ल बल्ल राँझा पुगिन्थ्यो, बाटा बिग्रेका, हिडन् नि नसकिने, बर्षायाममा चिप्लिने, सजिलो थिएन् । यही अप्ठ्यारालाई कसरी सहज बनाउने भन्ने दिमागमा चलेपछि सहकारीको जन्म भयो ।’ भनिन्छ, ‘जब मानिसलाई समस्या पर्छ अनि मात्रै उसले कुनै न कुनै उपाय खोज्छ, समस्या नपर्दासम्म जसोजसो चलाएकै हुन्छन् ।’ समस्या समाधान गर्नका लागि नै यो गाउँमा सहकारीको जन्म भयो । नेपालगन्ज उपमहानरपालिका भएपनि एउटा दुर्गम गाउँ हो २० नम्बर वडाको थपुवा ।
‘सहकारी यति ठुलो भएर यति आम्दानी गर्न सक्छ भन्ने लागेको थिएन,’ संचालक समिति अध्यक्ष न्यौपाने भन्नुहुन्छ, ‘पानी खाने बोतलमा दुध हालेर बजार लगेर बेच्ने गरिन्थ्यो । त्यो क्रममा व्यापारीले किसानलाई हेर्ने दृष्टिकोण, बजारमा बस्नेहरुले गर्ने व्यवहारले आफैलाई अपमानित भएको महसुस हुन्थ्यो ।’ यतिमात्रै नभएर पैसा माग्ने बेला पानी हालेर दुध ल्याउने गरेको, भिखारी जस्तो पैशा माग्नुपर्ने अवस्थाका सामाना गरेको अध्यक्ष न्यौपानेले बताउनुभयो । ‘उपभोक्ताले पैसा दिन नपरोस भन्ने हुन्थ्यो, किसानलाई तल्लो दर्जाको सोच्ने गर्थे, त्यसपछि सहकारी बनाउनुपर्छ भन्ने सोंचको विकास भयो,’ न्यौपानले भन्नुभयो ।

……….
उहाँका अनुसार सहकारी नहुँदै उहाँले नै कुशल मंगल डेरी चलाउनुभएको थियो । त्यही डेरीमार्फत यहाँका किसानले उत्पादन गर्ने २० लिटर दुध बेच्ने गर्नुहुन्थ्यो । किसानले उत्पादन गरेको दुध बिस्तारै बेच्दै जाँदा र इमानदारीपूर्वक किसानलाई पैसा दिँदै गरेपछि दुध आउने मात्रा बढ्न थाल्यो, त्यसपछि सहकारीमार्फत जानसकिए अझ राम्रो हुन्छ भनेर सहकारी निर्माण गर्न कस्सिनुभएको थियो । सुरुमा २५ जना स्थानीय मिलेर १÷१ हजार जम्मा गरेर सहकारीको निर्माण भयो । सहकारी कसरी चलाउने भनेर अध्यक्ष न्यौपानेले खजुराको एक सहकाीमा गएर यसबारेमा अनुभवसमेत लिनुभयो । २०७२ सालमा सानो कोठाबाट सुरु भयो शुुद्ध गोरस । सहकारी भएलगत्तै बिस्तारै किसानहरुले उत्पादन गर्ने दुधको मात्रा बढ्यो र उपभोक्ताको माग पनि बढ्दै गयो ।
त्यतिबेला दुई क्यान अर्थात ८० लिटर दुधबाट बिक्री सुरु हुन थाल्यो । त्यति बेला पनि बाटो राम्रो नभएकाले न्यौपानेले ३ वर्षसम्म आफ्नो अटोमार्फत सो दुध बजार पु¥याउनुभयो । यस्तै स्थापनापछिको २÷३ वर्ष सहकारी आम्दानीमा हुन सकेन, एक जना कर्मचारी पनि राख्न सक्ने अवस्था नरहेको अध्यक्ष न्यौपानेले सम्झनुभयो । ‘त्यो बेला अवस्था कठिन थियो ।,’ अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘२०७२ पछिको ३ वर्षसम्म सहकारी संचालन गर्न आर्थिक रुपमा गाह्रो भयो ।’ कडा संघर्ष र निरन्तरको प्रयास तथा मेहनत पश्चात त्यसरी सुरु सहकारीले हाल भने १ हजार देखि १ हजार ५ सय लिटरसम्म दुध बिक्री वितरण गर्न गरिरहेको छ ।
पहिला घरघर पु¥याएर बेचिने दुध सहकारीले अहिले भने डेरीमा पु¥याउने गरेको छ । किसानबाट संकलित दुध हाल ११ वटा ठाउँमा बिक्री गरिन्छ । यसका साथै सो कार्य तथा सहकारी संचालनका लागि ४ जना कर्मचारी नै राख्न सक्ने भएको छ । सहकारीमा हाल ३ सय २५ भन्दा सदस्य छन् । जसमध्ये १५० देखि १७५ जनाले दुध ल्याउछन् । अध्यक्ष न्यौपानेका अनुसार बजारमा बेच्न लैजाने किसानलाई यो सहकारीमा दुध लैजानुपर्छ भन्ने सोंचको विकास भएको छ । सहकारी निर्माण भएपछि स्थानीयलाई धेरै कुराहरुमा सहज बनाएको छ । ग्रामीण क्षेत्रमा रहेको सहकारीले दुध संकलन गर्ने मात्रै नभएर अर्गानिक तरकारीको उत्पादन तथा प्रयोग गर्न सिकाएको छ । इट्टा भट्टामा काम गर्नुपर्ने कामलाई निरुत्साहित गरेको छ । दाउरा बेच्ने कार्यलाई निरुत्साहित गर्दै पशुपालनमा प्रेरित गरेको छ ।
सहकारीले सहज रुपमा दुध बिक्री गरिदिनाका साथै घरघरमा गोबर ग्याँस निर्माण भएका छन् । सहकारीमा आवद्ध भएका र दुई भन्दा बढी पशुपालन गरेकाले त्यही मलको प्रयोग गरेर घरमा गोबर ग्याँस बनाएका छन् । यसका साथै भाडाको घरमा संचालन हुँदै आएको सहकारीले आफ्नो घर बनाउनका लागि जग्गा खरिद गरेको छ । सहकारीलाई सफल बनाउने अर्को पात्र हुनुहुन्छ प्रबन्धक दुर्गा कुमारी बुढा । उहाँ विगत ६ वर्षदेखि सहकारीको नेतृत्व गर्दै आउनुभएको छ । सहकारीलाई कसरी बढाउनुभएको छ, दुग्ध बिक्रीबाहेक अन्य कार्यहरु के के छन भनेर हामीले कुराकानी गर्दा प्रबन्धक दुर्गाले सहकारीको आफ्नै ब्राण्ड उत्पादन गर्ने सोंच रहेको बताउनुभयो । उहाँले दुध मात्रै बिक्री गरेर अब नहुने भएको भन्दै आफ्नो उत्पादन बनाउने जानकारी दिनुभयो ।

…………….
हुनत हाल सहकारीले दुध बिक्रीबाट मात्रै अढाई लाख जति आम्दानी गर्दै आएको छ । तर पनि आफ्नो ब्राण्ड बनाउन सकिने हो भने यहाँका किसानलाई अझ बढी व्यवसायीक बनाउने सकिने प्रबन्धक दुर्गाको भनाई छ । उहाँका अनुसार आफनै भवन बनाएपछि ब्राण्डका रुपमा केही परिकारहरु बनाउने योजना छ । ‘दुध बिक्री नभएको बेला, दही, मही बनाएका छौं, प्रबन्धक दुर्गाले भन्नुभयो, ‘सहकारीले पनि केही गर्नपर्छ भन्ने हामीले योजना बनाएका छौं, यसले भविष्यमा सहकारीलाई राम्रो बनाउने सहयोग पुर्याउँछ ।’ सहकारीले यस बिचमा प्रदेशको अनुदान पाएर किसानलाई घाँसको बिउ बितरण गरेको छ ।
‘किसानको हरेक थोपाको रेकर्ड हामीले राख्ने गरेका छौ,’ प्रबन्धक दुर्गाले भन्नुभयो, ‘यसले यो सहकारीमा दुध बिक्री गरियो भने अर्को वर्ष अनुदान पाइन्छ भन्ने पनि किसानमा परेको छ ।’ उहाँका अनुसार सहकारीले हाल मासिक २० लाख बढीको दुध बिक्री गर्ने गरेको छ । किसानले सहकारीमा २० देखि ४० लिटर दुध ल्याउने गरेका छन् । किसानलाई फाइदा होस भनेर सहकारीमा प्रति लिटर १ रुपैयाँ बचत गर्ने गरिएको छ भने कसै कसैले एक हजार पनि राख्नुप¥यो भन्ने गर्नुभएको प्रबन्धक दुर्गाले जानकारी दिनुभयो ।
सहकारीले यो क्षेत्रको विकास र समृद्धिका लागि किसानको दुध मात्रै संकलन नगरेर थप व्यवसायीक बनाउनका लागि ऋण दिने गरेको छ । प्रबन्धक दुर्गाका अनुसार भैंसी पालनका लागि ऋण दिने गरेको हो । यस्तै कतिपय सहकारी भ्रष्ट भएको देखिएका छ, यो सहकारीका सदस्यलाई बिश्वासिलो बनाउन के गर्नुभएको भन्ने प्रश्नमा प्रबन्धक दुर्गाले अनियमितता हुन नदिनका लागि मापदण्ड बनाएको र १ लाख देखि ५० हजार रुपैयासम्म मात्रै लगानी गर्ने गरिएको बताउनुभयो ।
यसका साथै वार्षिक साधारणसभा, लेखा परिक्षण र सदस्यलाई निरन्तर ती सबै कुरा बुझाउने काम सहकारीले गरेको छ । सहकारी शिक्षा तालिम दिने रपनि कुनै कुरामा रिसाएका किसानलाई मज्जाले बुझाएर पठाउने गरिएको प्रबन्धक दुर्गाले बताउनुभयो । उहाँका अनुसार सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बेला हुने पुजा पाठ, जोखिम आएको समयमा निःशुल्क रुपमा दग्ुध प्रदान गर्ने गरेको छ । ‘पैसा भन्दा पनि दुग्ध दिएर सामाजिक कार्य गरिरहेका छौं ।,’ प्रबन्धक दुर्गाले भन्नुभयो, ‘कोभिडका बेला भेरी अस्पताल, जाजरकोटमा भुकम्प, राँझा शिव मन्दिरमा पुजा हुँदा दुध दिने गरेका छौं ।’
अब एउटा चौतारी पनि निर्माण गर्ने योजना रहेको प्रबन्धक दुर्गाले जानकारी दिनुभयो । यस्तै सहकारीले यहाँका किसानहरुका लागि एकदमै राम्रो काम गरेको स्थानीय मनिराम जोशीले बताउनुभयो । उहाँले सहकारी भएकाले नै यहाँका किसानले उत्पादन गरेको थोरै दुध पनि बजार लगेर बेच्नुपर्ने बाध्यता हटेको बताउनुभयो । ‘सहकारीले अप्रत्यक्ष रुपमा सामाजिक योगदान पनि गरेको छ ।,’ स्थानीय जोशीले भन्नुभयो, ‘यसैका कारण सहकारीमा आबद्ध हुन चाहने किसान बढ्न थालेका छन् ।’ सहकारीले उत्कृष्ठ कार्य गरेको भन्दै यो वर्ष नेपालगन्ज उपमहानगरपालिकाले उत्कृष्ठ सहकारीका रुपमा सम्मानित पनि गरेको छ ।

…………