१२ औं स्थापना दिवसलाई भव्य बनाउँदै कोहलपुर
Friday, May 2nd, 2025, 9:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
कोहलपुर, १९ वैशाख
कोहलपुर नगरपालिकाले १२औं स्थापना दिवस तथा वार्षिकोत्सवलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै कोहलपुर नगरपालिकाले स्थापना दिवसलाई भव्य रुपमा मनाउने तयारीको बारेमा सार्वजनिक गरेको छ ।
स्थापना दिवस सचिवालय उपसमिति संयोजक एवम् कोहलपुर नगरपालिकाका वडा अध्यक्ष वीरेन्द्र कुमार शाहले स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
कोहलपुरले स्थानीय कला संस्कृतिको उत्थान, निजी क्षेत्रसँगको साझेदारी र क्रियाशिल व्यक्तिहरुलाई सम्मान लगायतको कार्यक्रम गर्ने तयारी गरेको छ ।
दिवसकालाई भव्य बनाउनको लागि नगर प्रमुख पुर्ण प्रसाद आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय मुल समारोह समिति, वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहको अध्यक्षमा संयोजकत्वमा सचिवालय उपसमिति, वडा अध्यक्ष लाल बहादुर रानाको संयोजकत्वमा अतिथी सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति, वडा अध्यक्ष हरि कठायतको संयोजकत्वमा खेलकुद उपसमिति र वडा अध्यक्ष मुबारक अलि गुजरको संयोजकत्वमा स्वास्थ्य तथा सरसफाई उपसमिति माफर्त काम भैरहेको छ ।
स्थापना दिवसलाई भव्यताका साथ मनाउन वैशाख २१ देखि २५ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरिने कोहलपुर नगरपालिकाका प्रेस सल्लाहाकार प्रियास्मृति ढकालले बताउनु भयो ।
दिवसको अवसरमा मञ्चे बाजा, टप्पा, थारु, गन्र्धव, मयुर, खाँडो र ख्याली सहितको स्थानीय मौलिक पहिचान झल्कने कला संस्कृतिको प्रदर्शनी, सामुहिक नृत्य, खुल्ला कविता प्रतियोगिता, विद्यालय स्तरीय हाजिरी जवाफ, कर्मचारी, जनप्रतिनिधि, उद्योगी, व्यवसायी र पत्रकारबिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता लगायतका कार्यक्रमहरु आयोजना गरिने छ ।
यसका साथै दिवसको अवसरमा उत्कृष्ट करदाता, उत्कृष्ट खेलाडीलाई सम्मान निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विद्यालय स्तरीय दौड प्रतियोगिताहरु आयोजना गरिने तयारी गरेको कोहलपुर नगरपालिकाले जनाएको छ । वैशाख २५ गते कोहलपुर–११ न्युरोड स्थित खुला मैदानमा भव्य समारोहको आयोजना गरिनेछ । जहाँ लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिेनाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।