धारा नेपालगन्ज म्याराथनको तयारी पूरा: शनिबार १२औँ संस्करण, शुक्रबार नेपालगन्ज कनक्लेभ हुँदैं
Thursday, November 26th, 2026, 9:01 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० मंसिर
नेपालगन्जमा शनिबार धारा नेपालगन्ज म्याराथनको १२औँ संस्करण आयोजना हुने भएको छ । सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको म्याराथनको यस वर्षको तयारी पूरा भएको आयोजकले जनाएको छ । म्याराथनमा यसपटक १२ वटा विधामा प्रतिस्पर्धा हुनेछ । म्याराथनका अध्यक्ष टीएस ठकुरीका अनुसार यस वर्ष १२ वटा सामुदायिक संस्थालाई कम्युनिटी पार्टनरका रूपमा जोडिएको छ । बीपी चोकबाट सुरु हुने म्याराथनमा ४२ किलोमिटर पुरुष खुला म्याराथन, २१ किलोमिटर महिला हाफ म्याराथन, १० किलोमिटर महिला तथा पुरुष खुला दौड, पाँच किलोमिटर महिला तथा पुरुष खुला दौड र विद्यालयस्तरीय छात्रछात्रा दौड समावेश छन् ।
त्यस्तै, तीन किलोमिटर कर्पोरेट रन, किड्स रन, ह्वीलचेयर रन, दुई किलोमिटर फेमिली रन र तीन किलोमिटर रन फर अल पनि सञ्चालन हुनेछन् । ४२ किलोमिटरको खुला म्याराथनमा महिलाले व्यक्तिगत समयका लागि सहभागी हुन चाहेमा विद्युतीय चिप्स उपलब्ध गराइने व्यवस्था गरिएको छ । त्यस्तै, २१ किलोमिटर महिला हाफ म्याराथनमा पुरुष धावकले पनि आफ्नो समय सुधारका लागि दौडिन सक्ने व्यवस्था मिलाइएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
यस वर्षको म्याराथनमा उमेर समूहका धावकलाई पनि विशेष प्राथमिकता दिइएको छ । ४२ किलोमिटर दौडमा ४० देखि ५०, ५० देखि ६० र ६० देखि ७० वर्ष उमेर समूहका धावकको छुट्टाछुट्टै वरियताक्रम निर्धारण गरिनेछ । प्रत्येक समूहमा पहिलो तीन स्थान हासिल गर्ने धावकलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ । एबोट वर्ल्ड म्याराथन मेजर्ससँगको सहकार्यमा उमेर समूहका धावकलाई विश्वव्यापी वरियतामा समावेश गर्ने र विश्व च्याम्पियनसिपमा सहभागिताका लागि सहजीकरण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ । विभिन्न विधाका उत्कृष्ट धावकलाई मेजर म्याराथन तथा वर्ल्ड एथलेटिक्सका प्लेटिनम, गोल्ड, एलिट र लेभल रेसमा सहभागी हुने अवसर प्रदान गरिने अध्यक्ष ठकुरीले बताए ।

…..
नेपालगन्ज म्याराथनले एम्सको अन्तर्राष्ट्रिय सोसल अवार्ड प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष ठकुरीले यसलाई म्याराथनको सामाजिक अभियान र निरन्तर प्रयासको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको बताए ।
म्याराथनका टाइटल स्पोन्सर केएल दुगड ग्रुपका प्रमुख कार्यकारी अधिकृत प्रदीप छाजेडले सबैको सामूहिक प्रयत्नबाट नेपालगन्ज म्याराथनको अभियान सफल हुँदै गएको बताए । उनले आगामी दिनमा पनि सहकार्यलाई थप विस्तार गर्दै लैजान सबैलाई आग्रह गरे । यसैबीच, धारा नेपालगन्ज म्याराथनकै अर्को शृंखलाका रूपमा नेपालगन्ज डिस्कोर्सको छैटौँ संस्करणअन्तर्गत शुक्रबार नेपालगन्ज कनक्लेभ आयोजना हुने भएको छ । कनक्लेभमा युवा, खेलकुद, पर्यटन, उद्यमशीलता, अर्थराजनीति र साहित्यका विषयमा विमर्श हुनेछ ।
कनक्लेभका निर्देशक जनक नेपालका अनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म नेपालगन्जस्थित सिटी प्यालेसमा सञ्चालन हुने कार्यक्रममा पाँचवटा सेसन रहनेछन् । ‘खेल, पर्यटन र युवाः सम्भावनाको नयाँ ढोका’ शीर्षकको पहिलो सेसनमा एभरेस्ट म्याराथनका प्रमुख कार्यकारी अधिकृत शिखर पाण्डे, पूर्वखेलाडी नेरी थापामगर, पर्यटन व्यवसायी केशव न्यौपाने र मिस नेपाल २०२६ दीपमाला ढकाल सहभागी हुनेछन् । त्यस्तै, युवा उद्यमीमार्फत व्यवसाय विस्तार, तीन तहका सरकारबीचको समन्वय र कार्यसम्पादन, कथाको भविष्य तथा प्रकाशनका चुनौतीलगायत विषयमा छुट्टाछुट्टै सेसनमा छलफल हुनेछ । ती सेसनमा उद्यमी, व्यवसायी, जनप्रतिनिधि, कथाकार तथा प्रकाशक सहभागी हुनेछन् ।
कनक्लेभको अन्तिम सेसनमा नेपाली, उर्दु, अवधी, थारू र मगर भाषाका कविहरूले कविता वाचन गर्नेछन् । त्यसैगरी, २० जनाको टोलीले देउडा प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ । यसको संयोजन भेरी साहित्य समाजले गर्नेछ । ‘नेपालगन्जलाई शान्ति, सद्भाव, खेलकुद र विचार विमर्शको सहरका रूपमा स्थापित गर्ने हाम्रो प्रयास हो । कनक्लेभ विचार र अनुभव आदानप्रदान गर्ने साझा मञ्च हो । यसमा सबै क्षेत्र र समुदायका व्यक्तिको सहभागिता अपेक्षा गरेका छौँ,’ निर्देशक नेपालले भने ।
कनक्लेभमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । आयोजकले शुक्रबार हुने नेपालगन्ज कनक्लेभ र शनिबार हुने धारा नेपालगन्ज म्याराथनमा सहभागी हुन सर्वसाधारण, युवा, खेलाडी, साहित्यकार, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरेको छ ।