वेष्टर्न ट्राभल मार्ट–२०२५ को खर्च सार्वजनिक
Wednesday, July 2nd, 2025, 8:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ असार
वेष्टर्न ट्राभल मार्ट–२०२५ को खर्च सार्वजनिक गरेको छ । नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बाँकेको पर्यटनकर्मीको नेतृत्वमा बनेको १५ सदस्यीय आयोजक समितिले नेपालगन्जमा वेष्टर्न ट्राभल मार्टको तेस्रो संस्करण गरेको थियो । जेठ २४ गते नेपालगन्जमा सुरु भएर जेठ २६ गते ठाकुरद्धारामा वेष्टर्न ट्राभल मार्ट–२०२५ सम्पन्न भएको थियो ।
आयोजक समितिका संयोजक नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले वेष्टर्न ट्राभल मार्ट–२०२५ बाट ४ लाख ४५ हजार ७ सय ७० रुपैयाँ २५ पैसा बचत भएको बताउनु भयो ।वेष्टर्न ट्राभल मार्ट–२०२५ आयोजनाको लागि नेपाल पर्यटन बोर्डले २६ लाख र नेपालगन्ज उपमहानगरपालिकाले ५ लाख व्होर्ने सहमति भएको थियो । यसैगरी वेष्टर्न ट्राभल मार्ट–२०२५ अन्तर्गतकै कार्यक्रम नेपालगन्ज फुड लेन सञ्चालनका लागि नाटा बाँके च्याप्टरलाई पर्यटन विकास परिषदले लुम्बिनीले ३ लाख र नेपालगन्ज उपमहानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
वेष्टर्न ट्राभल मार्ट–२०२५ मार्टले बाँके र बर्दियासँगै पश्चिम नेपालको पर्यटन प्रवद्र्धनलाई प्रचार प्रसार गर्नमा महत्वपुर्ण भुमिका खेलेको आयोजक समितिका संयोजक नाटा बाँके अध्यक्ष सिग्देलले बताउनु भयो ।
नेपाल, भारत र युरोपका गरी २ सय ७ जना पर्यटन व्यवसायी मार्टमा सहभागी भएको, पश्चिम नेपालका पर्यटकीय गन्तव्यहरुको बारेमा जानकारी गराइएको, सहभागी ६८ जनालाई पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारमा सहयोग गरेको सिग्देलले जानकारी गराउनु भयो ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्चको प्रचार प्रसारको लागि आकर्षित गर्ने रोयल बंगाल टाइगरको चित्रलाई मायाको चिनोको प्रचार प्रसार गरिएको, रैथाने परिकारहरुको रात्रीकालीन बजार प्रवद्र्धनमा वेष्टर्न ट्राभल मार्ट–२०२५ ले सहयोग गरेको आयोजकले जनाएको छ ।