पक्राउ परे कर्णाली बैंकका पुर्व अध्यक्ष पशुपति दयाल
Thursday, July 3rd, 2025, 9:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असार
बैंकमा जनताले बचत गरेको रकम अपचलन गरेको आरोपमा कर्णाली विकास बैंकका पुर्व अध्यक्ष एवम एमाले नेता पशुपति दयाली मिश्र पक्राउ पर्नु भएको छ ।
बंैकको अध्यक्ष पदमा रहँदा मिश्रले नियम विपरित आफन्त र आफनो लगानी भएको कम्पनीको नामबाट रिण लिएको आरोप लाग्दै आएको थियो ।
मिश्रलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले बताउनुभयो ।
प्रवक्ता तथा एसपी खड्काका अनुसार मिश्रसँगै बैंक ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगन्ज बसेर अनुसन्धान गरिरहेको सीआईबीले बताएको छ ।
घोटालामा संलग्न मुख्य व्यक्ति रायको कर्णाली विकास बैंकमा करिब ८० प्रतिशत संस्थापक सेयर छ । राय बैंक स्थापनादेखि नै कार्यकारी अध्यक्ष तथा सीईओका रूपमा करिब १५ वर्षसम्म कार्यरत थिए । प्रमुख सेयर होल्डरका रूपमा रायले नै बैंक चलाउँदै आएका थिए ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो ।पक्राउ परेकाहरुविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ ।
बैंक घोटाला प्रकरणमा पक्राउ पर्नुभएका मिश्र नेकपा एमालेको केन्द्रीय सदस्यसमेतहुनुहुन्छ । मिश्र जिविस सभापति पनि भइसकेको व्यक्ति हुनुहुन्छ । विसं २०६६ सालदेखि ०७५ सालसम्म मिश्रबैंकको अध्यक्ष हुनुहुन्थ्यो । मधेश आन्दोलनबाट उदाउनुभएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेतबन्नुभएको थियो ।
मिश्र सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेपनि पराजित हुनुभएको थियो । पछि एमाले प्रवेश गरेर केन्द्रीय सदस्य बन्नुभयो । एमाले प्रवेश गर्नासाथ मिश्रलाई पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख पदको टिकट दिएको थियो । तर, मिश्र सो निर्वाचनमा पराजित हुनुभएको थियो ।
सिआइबीले बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओसहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिएर बसेको छ । बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष रायलाई भारतको लखनउबाटै महिना दिन अघिपक्राउ गरेको थियो ।
सिआइबीले बैंकका पूर्व सिइओ सन्तोष कुमार राई, निमित्त सिइओ विष्णु प्रसाद कक्षपती, पूर्व सिइओ दिनेश कुमार रावत, वर्तमान सिइओ निरज बिक्रम शाह, पूर्व म्यानेजर दिपा थापाबिरुद्ध पक्राउपुर्जी लिएर खोजीरहेको छ ।
बैंकका संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा जनताको अर्बौ रकम हिनामिना भएको छ । बैंकले बचतकर्ताले रकम फिर्ता गर्न नसकेपछि अन्तिम अवस्थामा नेपाल राष्ट्र बैंकले गत पुषदेखि बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएर संचालन गर्दै आएको छ ।
राष्ट्र बैंकले कर्णाली विकास बैंकको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिएर चलाउन थाले लगत्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइवी) ले उक्त बैंक घोटालाबारे अनुसन्धान थालेको हो ।
राष्ट्र बैंक र सिआइवीको अनुसन्धानबाट बैंकका बोर्ड संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा बैंकको १ अर्ब भन्दा बढी रकम हिनामिना गरिएको भेटिएको छ ।
नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंक संचालन समितिका अध्यक्ष ओम मिश्र माथि पनि आन्तरिक अनुसन्धान गरिरहेको थियो । आफ्नै बैंक आफै बैंकको बोर्ड अध्यक्षमा बसेर सोही बैंकबाट पूर्व अध्यक्ष मिश्रले विभिन्न शिर्षकमा ११ करोड भन्दा बढी रकम लिएको देखिएको छ ।
करोडौं रकम लगेको देखिएपछि अध्यक्ष मिश्रमाथि राष्ट्र बैंक र सिआइबी दुवैले आन्तरिक रुपमा अनुसन्धान थालेको थियो ।२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकमा हालसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको उजुरी परेको छ ।