बाँकेमा यस वर्ष माध्यमिक शिक्षा परीक्षमा २८.३५ प्रतिशत नतिजा सुधार
Friday, July 4th, 2025, 6:53 am
Kalpristha
भिष्म लोध
नेपालगन्ज, १९ असार
हालै सार्वजनिक भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा बाँकेको नतिजा सुधार भएको छ । गतवर्ष एसइइमा आएको नतिजाभन्दा यस वर्ष जिल्लाको नतिजा राम्रो आएको देखिएको छ । बाँकेमा यस वर्ष ६२.२५ प्रतिशत नतिजा आएको हो । जसमा सामुदायिक विद्यालयतर्फको नतिजा ४७ प्रतिशत रहेको छ भने संस्थागत (निजी) विद्यालयको नतिजा ९२ प्रतिशत देखिएको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख धन सुदन चौलागाईले जानकारी दिनुभयो ।
माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा गत वर्ष बाँकेको नतिजा ३३.९ प्रतिशत आएको थियो । यसमा गत वर्ष सामुदायिक विद्यालयले १८ प्रतिशत नतिजा ल्याएका थिए भने संस्थागत (निजी) विद्यालयले ६८ प्रतिशत नजिता ल्याएको इकाइ प्रमुख चौलागाईले बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष बाँकेको नतिजामा धेरै सुधार भएको हो ।
‘यस वर्ष माध्यमिक शिक्षा परीक्षामा बाँकेको नतिजा राम्रो आएको छ ।,’ इकाइ प्रमुख चौलागाईले भन्नुभयो, ‘यो नतिजालाई आगामी वर्ष कसरी अझ राम्रो बनाउने यसतर्फ सबै क्षेत्रको ध्यान जान जरुरी छ ।,’ गत वर्षको नतिजाभन्दा यस वर्षको नतिजाले विद्यालयहरुलाई ठुलो राहत प्रदान गरेको उहाँको भनाई छ ।
जिल्लाको यस वर्षको नतिजा गतवर्षको भन्दा २८.३५ प्रतिशत बढी आएको छ । यस वर्षको नतिजामा २४ वटा सामुदायिक विद्यालयले जिल्लाको औषतभन्दा बढी नतिजा ल्याएका छन् । इकाइ प्रमुख चौलागाईका अनुसार २४ वटा सामुदायिक विद्यालयले औषतभन्दा बढी ९७ प्रतिशतसम्म नतिजा ल्याएका छन् ।
यस्तै संस्थागत (निजी) तर्फ ३१ वटा विद्यालयले सत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् भने औषत्भन्दा बढी ९७ वटा विद्यालयले नतिजा ल्याएका छन् । ‘यो नतिजाले यस वर्ष जिल्लाको नतिजा सुधार भएको देखाएको छ ।,’ उहाँले भन्नुभयो, ‘यो पटक जिल्लामा शिक्षासंग सरोकार राख्ने सबैको प्रयास राम्रो देखिएको छ ।’
यस्तै लुम्बिनी प्रदेशमा सबैभन्दा राम्रो नतिजा ल्याउने बाँके चौथो नम्बरमा रहेको छ । लुम्बिनी प्रदेशको नतिजाको तथ्याँक अनुसार प्रदेशमै सबैभन्दा राम्रो रुपन्देहीको नतिजा देखिएको छ । रुपन्देहीको ७१ प्रतिशत नतिजा आएको छ ।
यसपछि गुल्मी जिल्ला रहेको छ । गुल्मीको नतिजा ६९ प्रतिशत आएको देखिन्छ । यसपछि बाँके, कपिलबस्तु र अर्घाखाँची जिल्लाको नतिजा रहेको छ । बाँकेमा १०२ वटा सामुदायिक र १०१ वटा संस्थागत (निजी) गरी २०३ वटा विद्यालयका विद्यार्थीले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका थिए । जसमा ८ हजार २३१ जना विद्यार्थी सहभागि भएका थिए ।
गत वर्ष भने १०१ वटा सामुदायिक र ९७ वटा संस्थागत (निजी) गरी १ सय ९८ वटा विद्यालय माध्यमिक शिक्षा परीक्षामा सहभागि भएका थिए । जसमा ९ हजार १३६ जना विद्यार्थीले परीक्षा दिएका थिए । विगतमा आएको नजिताले सबैलाई चिन्तित बनाएको हुनाले यस वर्षको एसइइ नजितामा सुधार ल्याएको इकाइ प्रमुख चौलागाईको भनाई छ ।
‘गत वर्ष एसइइमा आएको नजिताले, शिक्षक, अभिभावक र सरोकारवाला सबैलाई चिन्तित बनाएको थियो ।,’ उहाँले भन्नुभयो, ‘त्यसको उपज नै यस वर्षको नतिजामा सुधार देखिएको छ । नजिता सुधार्न सबैले आवश्यक कार्य गर्नुभएकै कारण यस्तो देखिएको हो ।’ उहाँका अनुसार विद्यार्थीको मेहनतले गर्दा पनि यस वर्षको एसइइ नतिजा राम्रो आएको हो ।
तीन वटा विद्यालयको नतिजा शून्य
यस वर्ष माध्यमिक शिक्षा परीक्षामा बाँकेका तीन वटा विद्यालयले नतिजा शून्य ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धन सुदन चौलागाईले यस वर्षको परीक्षामा तीन वटा विद्यालयको नतिजा शून्य देखिएको बताउनुभयो ।
यद्दपी गतवर्षको भन्दा सुधार भएकोसमेत उहाँले बताउनुभयो । यस वर्ष १ सामुदायिक र २ संस्थागत (निजी) विद्यालयका माध्यमिक शिक्षा परीक्षामा कुनै पनि विद्यार्थी पास हुन सकेनन । यसमा २ वटा संस्थागत विद्यालय नेपालगन्जकै रहेको शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको तथ्याँकले देखाएको छ ।
गत वर्ष भने १६ वटा विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा असफल भएका थिए ।
गत वर्षको तथ्याँक अनुसार ४ वटा संस्थागत र १२ वटा सामुदायिक विद्यालयले परीक्षामा शून्य नतिजा ल्याएका थिए । गतवर्ष १ सय ९८ वटा विद्यालय एसइइमा सहभागि भएका थिए ।