बाँकेमा ‘अनलाइन स्क्याम’कापिडित बढ्दै
Monday, July 21st, 2025, 6:21 am
Kalpristha
भिष्म लोध
नेपालगन्ज, ४ साउन
गतअसार २७ गते सामाजिक संजाल फेसबुक म्यासेन्जरमा म्यासेज आयो, ‘म दुबई घुम्न आको छु, मेरो पासपोर्टको समय यहाँ आएकै क्रममा सकिएको छ । मलाई यहाँको प्रहरीले समात्ने तयारी गरेको छ । मैले साढे सात लाख तिमिलाई तिम्म्रो खातामा पठाएको थिए, त्यो पैसा तिम्रो खातामा आउन करिब २४ घण्टा लाग्छ । तर मलाई दुई लाख ५० हजारको तत्कालै आवश्यकता प¥यो । ल पठाईदि हाल त तुरुन्तै, नत्र मलाई यहाँ प्रहरीले समातेर लैजाने भयो ।’
म्यासेन्जरमा यस्तो म्यासेज आएपछि उनले तुरुन्त व्यवस्था गरेर दुई लाख ६० हजार उनलाई पठाई दिए । ति युवाले परिवारका सदस्य र साथीभाईसँग सापट लिएर सो रकम पठाए । ति युवालाई उनकै परिवारको सदस्यको म्यासेन्जरबाट त्यो म्यासेज आएको थियो । आफ्नै परिवारका सदस्यको म्यासेन्जरबाट अप्ठ्यारोमा परे भनेर म्यासेज आएपछि ति व्यक्तिले अरु केहीकसैसंग सोधी खोजी नगरेर भनेको खातामा पैसा पठाए ।
परिवारका सदस्यलाई आवश्यकता परेको बेला जसले पनि यही, यस्तै नै गर्छ । उनले पैसा पठाएको एकैछिनमा पुनःम्यासेज आयो, ‘अघि भनेको पैसाले नपुग्ने भयो, मलाई तीन लाख ३० हजार जरुरी भयो ।’ तत्कालै यस्तो म्यासेज आएपछि ति युवालाई अलि अलि शंका भयो । जसको म्यासेन्सजरबाट म्यासेज आयो र म्यासेज आएपछि पैसा पठाउने व्यक्ति दुबै जना व्यक्ति अरु कतैको नभएर यहीँ नैपालगन्जका हुन् ।
पैसा पठाउने व्यक्तिले म्यासेज गर्ने व्यक्तिलाई फोन गरेपछि बल्ल आफु ठगिएको थाहा भयो । यद्दपी पैसा माग्न प्रयोग गरिएको म्यासेन्जरका व्यक्ति नेपालगन्जमै रहेको पुष्टि भयो । पैसा माग्नेले ति व्यक्तिको परिवारिक सदस्यको सामाजिक संजाल फेसबुक ह्याक गरेर पैसा मागेको खुल्न आएको छ । दुबै जना व्यक्ति पारिवारिक सदस्य हुन् तर एक जना एकातिर अर्को अर्कोतिर बस्ने गरेका छन् । त्यसकारण ति व्यक्तिले अर्कोले अप्ठ्याउरो परे भनेर सहयोग मागेपछि आफुले सहयोग गरेको बताए ।
पैसा पठाएको व्यक्तिको बारेमा खोज्दै जाँदा रुपन्देहीका बिष्णु ज्ञवालीको नाममा लुम्बिनी विकास बैंकमा रहेको खातामा पैसा गएको खुल्न आएको छ । परिवारका सदस्यहरुले ति व्यक्तिलाई खोजेर भेट्दा उनले त्यो खाता नचलाएको बताएका छन् । उनले भारतको कुनै व्यक्तिलाई पैसा पठाएको खाता चलाउन दिएको बताए । ठगिएका व्यक्तिले आफ्नो नाम नलेख्न अनुरोध गर्दै अनलाइन ठगि सम्बन्धि उजुरी प्रहरीमा दिएका छन् ।

………..
घट्ना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान सुरु गरेको जनाएको छ । यो घट्ना एउटा प्रतिनिधि मूलक घट्ना मात्रै हो । पछिल्लो समय यस्ता अनलाइन ठगिको घट्ना बढ्दै गएका छन् । बढ्दो सामाजिक संजालको प्रयोग त्यसमापनि सामाजिक संजालको उचित प्रयोगको ज्ञानको कमी लगायतका कारण यस्ता घट्ना समाजमा बढ्न थालेको बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा यस्तै प्रकृतिका साइबर अपराध सम्बन्धी उजुरी बढ्दै गएको छ । आर्थिक वर्ष २०८१÷८२ मा ३०९ वटा साइबर अपराध सम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताउनु भयो । परेका ती उजुरी मध्ये सबैभन्दा बढी नेपालगन्ज र कोहलपुरमा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याँक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २७० उजुरी परेकोमा एउटा घटनाको मात्र मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा १०६ र आर्थिक वर्ष २०७८÷७९ मा ५८ वटा मात्र साइबर अपराध सम्बन्धी उजुरी परेका थिए । प्रहरीका अनुसार विदेशबाट पनि साइबर कानुनको उल्लङ्घन गरेको पाइएको छ ।
यसरी पर्ने उजुरीहरूमा ठगी, चरित्र हत्या, गोपनीयता भङ्ग गर्नेदेखि ‘प्रोनोग्राफिक’ सामग्री सार्वजनिक एवम् प्रसारण गरेको जस्ता घटनाहरू रहेको जनाइएको छ । साइबर कानुन उल्लङ्घन फेसबुक, इन्स्टाग्राम, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालबाट हुने गरेको प्रहरीको भनाइ छ । चिने जानको आधारमा मोबाइल बैंकिङका पासवर्ड अरुलाई दिने र अपरिचित लिङ्क खोल्दा धेरैको फेसबुक ह्याक हुने गरेको धेरै व्यक्ति पीडित हुनुपरेको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।