विपीको स्मृतिमा मंगलप्रसाद माविमा सरसफाई र वृक्षारोपण
Tuesday, July 29th, 2025, 7:11 am
Kalpristha
शौरभ राना
नेपालगन्ज, १२ साउन
निरंकुश राणा शासनविरुद्ध नेपालमा शुरु गरिएको क्रान्तिको अगुवाई गर्ने लोकतान्त्रिक आन्दोलनका नायक, नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको ४३औ स्मृति दिवसका अवसरमा नेपालगञ्जको मंगलप्रसाद माविमा आज सरसफाई तथा वृक्षारोपण गरिएको छ ।

………..
स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस, बाँके २ नं. क्षेत्रीय समितिले आयोजना गरेको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, बाँके सभापति नारायणप्रसाद गौडेल, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, पूर्व मन्त्री सुरेन्द्रबहादुर हमाल, महिला नेत्री उमा थापामगरलगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ता, विद्यालयका शिक्षकशिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सरसफाई तथा वृक्षारोपण कार्यक्रमलाई नेपाल स्काउटका छात्रछात्राहरुले सघाएका थिए । नेपाली काँग्रेस, बाँके क्षेत्र नं. २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताका अनुसार, कार्यक्रममा विद्यालय प्रागंणको झारपात तथा फोहरहरुको सरसफाई गरिनुका साथै विभिन्न जातका ३५ वटा विरुवा रोपिएका थिए ।
कार्यक्रम जननायक स्वर्गीय विपी कोइराला र संविधानका पिता, पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो । त्यस अवसरमा लोकतान्त्रिक आन्दोलनका क्रममा शहादत प्राप्त गर्न मुलुकका शहिदहरुप्रति एक मिनेट मौनधारण गरी भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो ।
क्षेत्रीय सभापति गुप्ताको अध्यक्षतामा भएको सरसफाई तथा वृक्षारोपण कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, बाँके सभापति गौडेल, सचिव कोइराला, कोषाध्यक्ष बस्नेत, पूर्व मन्त्री हमाल, युवा नेता सुनिल राणा, महिला नेत्री थापामगर, विद्यालयका प्रधान अध्यापक सन्ध्या गुप्तालगायतले विपी कोइरालाको बहुआयामिक प्रतिभा र काँग्रेसको सांगठानिक अवस्थाका बारे प्रकाश पार्नुभएको थियो ।